मौलिक पोसाकमा सजिएर कौरामा रमाए विदेशी पर्यटक

बन्दीपुर आएका विदेशी पर्यटक विभिन्न जातजातिका पोसाकमा सजिएर कौरा र चुड्कामा नाचेका हुन्। शुक्रबार उनीहरूलाई यहाँको संस्कृतिबारे जानकारी गराउँदै मनोरञ्जन गराइएको छ। 

दमौली– तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका विदेशी पर्यटक जातीय पोसाकमा सजिएर कौरामा रमाएका छन्। विभिन्न देशबाट बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक विभिन्न जातजातिका पोसाकमा सजिएर कौरा र चुड्कामा नाचेका हुन्। 

बन्दीपुरमा बसोबास गर्ने नेवार, मगर, गुरुङ, क्षेत्री जातिका पोसाकमा सजिएर पर्यटक कौरा र चुड्कामा नाचेका छन्। स्थानीय होटल व्यवसायीको सक्रियतामा शुक्रबार उनीहरूलाई यहाँको संस्कृतिबारे जानकारी गराउँदै मनोरञ्जन गराइएको छ। 

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्षसमेत रहेका हेरिटेज गेस्ट हाउसका सञ्चालक किसान प्रधानले विदेशी पर्यटक यहाँको संस्कृति देखेर आकर्षित भएको बताए। “विदेशीले यहाँको संस्कृति, रीतिरिवाजबारे बुझ्ने प्रयास गरेपछि विभिन्न जातजातिका पोसाकको व्यवस्था गराएर स्थानीयको सहयोगमा नचायौँ। उनीहरू निकै खुशी देखिए,” उनले भने।

स्थानीयले गाएको गीतमा नाच्न पाउँदा विदेशी पर्यटक खुशी देखिएका थिए। “बन्दीपुर घुम्न आउने पर्यटक यहाँको संस्कृति, रीतिरिवाज, जातजातिको एकता देखेर मोहित हुन्छन्,”  उनले भने, “बन्दीपुरमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको आगमन बाक्लिएको छ।” बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि भिजिट बन्दीपुर २०२५ घोषणा गरिसकेको छ। 

बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्यान्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अस्ट्रेलिया, बेलायत, आयरल्यान्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्यान्ड, ताइवान, स्विटजरल्यान्ड, मलेसिया, होल्यान्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आउने गरेको तथ्यांक रहेको प्रधानले जानकारी दिए।

गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउन लागेको छ। गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार उक्त वर्षभरि नै बन्दीपुरमा पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ। देशका मुख्य शहर काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने थापाले बताए। पर्यटन प्रवर्द्धनकै निमित्त बन्दीपुरमा आगामी माघ महिनामा अन्तर्राष्ट्रिय साइक्लिङ प्रतियोगिताको तयारी गरिएको छ।