राप्ती सोनारी रनको उपाधि आयुस र अनिशालाई

नेपालगन्ज म्याराथनले एक दशक यात्रा पूरा गरेको अवसरमा शनिबार राप्ती सोनारी गाउँपालिका– २ बिनौनामा दौड सञ्चालन गरिएको हो।

नेपालगन्ज– दशौँ धारा नेपालगन्ज म्याराथनको प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार आयोजना गरिएको राप्तीसोनारी ५ किमी रनको उपाधि आयुस केसी र अनिशा थारुले जितेका छन् ।

निर्धारित दूरी आयुसले १९ मिनेट २३ सेकेन्ड तथा अनिसाले २५ मिनेट २१ सेकेन्डमा पूरा ०५ मिनेटमा पूरा गरे। नेपालगन्ज म्याराथनले एक दशक यात्रा पूरा गरेको अवसरमा राप्ती सोनारी गाउँपालिका– २ बिनौनामा सञ्चालन गरिएको दौडमा छात्रतर्फ करण नेपाली १९ मिनेट ४८ सेकेन्डका साथ दोस्रो र मनोज थारु २१ मिनेट २१ सेकेन्डका साथ तेस्रो भए । त्यसैगरी छात्रातर्फ सुमित्रा रानाले २८ मिनेट ३९ सेकेन्डसहित दोस्रो र सन्तोषी थारु ३८ मिनेट ५० सेकेन्डसहित तेस्रो भए ।

विजेतालाई राप्तीसोनारी गाउँपालिका प्रमुख तप्त पौडेल, गाउँपालिका खेलकुद विकास समिति संयोजक तेजबहादुर सुवेदी, रेस डाइरेक्टर चन्द्र गुरुङ, अन्तर्राष्ट्रिय धावक तिर्थ ओली र नेपालगन्ज म्याराथन संस्थापक टीएस ठकुरीले पुरस्कार वितरण गरेका थिए। पहिलो दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई नगद तीन हजार, दुई हजार र एक हजार रुपैयाँ प्रदान गरिएको थियो।

रनको उद्घाटन गर्दै पालिका प्रमुख पौडेलले नेपालगन्ज म्याराथनसँग गाउँपालिका साझेदारी गर्न तयार रहेको बताए। पालिकाको साझेदारी भए राप्ती सोनारी रन हरेक वर्ष आयोजना गर्ने र स्थानीय प्रतिभा खोज्ने तयारी गरिएको नेपालगन्ज म्याराथनका रेस डाइरेक्टर गुरुङले बताए। 

दौडका अवसरमा दुई किलोमिटर वाकाथन आयोजना गरिएको थियो। त्यसमा स्थानीय शिक्षक, वृद्धलगायत उपस्थित थिए।