कलमपारखीको रोजाइमा कोलकाताको ‘पेन हस्पिटल’

प्रविधिले जति फड्को मारे पनि डायरीमा कलमले अक्षर मिलाएर लेख्नुको आनन्द बेग्लै हुन्छ। त्यसैले कलम लेखकको भावनासँग जोडिएको छ। यो लेखकको अमूल्य सम्पत्ति पनि हो। 

तस्वीरहरू: मुन्जारिता मन्डल/भग इन्डिया

‘तरबारभन्दा कलम बलियो हुन्छ।’ प्रसिद्ध नाटककार एडवर्ड बुलवर रिटनको यस भनाइले कलमको महत्त्वलाई झन् उचाई दिएको छ।

कलम लेखनको साधन हो। लेखकको भावनासँग समेत जोडिएको हुन्छ कलम। लेखक तथा चलचित्रकर्मी प्रकाश सायमीले टेलिभिजन कार्यक्रम ‘मेरो एउटा साथी छ’मा भनेका छन्, “कसैले मलाई उपहारमा के ल्याइदिउँ भनेर सोध्यो भने कलम ल्याइदिनु भन्छु।”

पछिल्लो समय रिफिलवाला पेनको प्रयोग बढे पनि कुनै समय फाउन्टेन पेनको राज थियो। हुन त फाउन्टेन पेन अहिले पनि प्रयोग हुन्छन् तर पहिले जति होइन। सायमीले भनेझैँ लेखनमा रुचि राख्नेहरूले उपहारको रूपमा कलम दिन रुचाउँछन्। प्रविधिले जति फड्को मारे पनि डायरीमा कलमले अक्षर मिलाएर लेख्नुको आनन्द बेग्लै हुन्छ। त्यसैले कलम लेखकको अमूल्य सम्पत्ति पनि हो।

मान्छे दुर्घटनामा परे वा बिरामी भए त अस्पताल लगिन्छ तर लेखकको भावना र पात्रको संवेदनामाथि रेखांकन गरिरहने कलम दुर्घटनामा परे वा बिग्रे के होला?

भारतको पुरानो शहरमध्ये एक कोलकातामा एक अस्पताल छ, जहाँ बिग्रेका, नलेख्ने भएका कलमको उपचार गरिन्छ।

धर्मतला मेट्रो स्टेसनको गेट नम्बर ४ बाट निस्कने बित्तिकै फुटपाथको देब्रेपट्टि झन्डै ८० वर्ष पुरानो पसल छ, जसको बाहिर लेखिएको छ –पेन हस्पिटल। यो पसल मोहम्मद इम्तियाजको हो।  इम्तियाजका हजुरबुवा समसुद्दीनले सन् १९४५ मा यो पसल खोलेका थिए। उनीपछि इम्तियाजका बुवा र अहिले इम्तियाज उक्त पसल चलाइरहेका छन्। पसलमा उनीलगायत उनका सहयोगीहरू पेनको उपचार गर्नमा व्यस्त हुन्छन्।

त्यतिबेला विदेशबाट वाटरमैन, शेफर्ड, पियरे कार्डा तथा विल्सन जस्ता महंगा पेन ल्याइन्थ्यो। बिग्रेपछि बनाउने कोही थिएनन्, त्यहीबेला आफ्ना हजुरबुवाले यो अस्पताल खोलेको इम्तियाज बताउँछन्।

इम्तियाजसँग धेरै पुराना कलमको संग्रह पनि छ। यी कलमको मूल्य २० रुपैयाँदेखि २० हजार रुपैयाँ (भारु)सम्म रहेको छ।

कलम मर्मत गर्नु सधैँ चुनौतीपूर्ण हुन्छ र कहिलेकाहीँ स्पेयर पार्ट्स उपलब्ध हुँदैनन् जसले मर्मत कार्यमा बाधा पुर्‍याउँछ। “त्यसपछि हामीले कलमलाई जीवित राख्नका लागि पार्टपुर्जाहरूको आधुनिक संस्करणहरू रोज्नुपर्छ। वासर जस्ता केही अत्यावश्यक पार्ट्सहरू स्थानीय रूपमा उत्पादन गरिन्छ भने निबहरू विदेशबाट खरिद गरिन्छ,” इम्तियाज भन्छन्।

यस पसलमा चर्चित भारतीय लेखक तथा निर्देशक सत्यजित रेको कलमलगायत धेरै व्यक्तित्त्वहरूको कलम मर्मत गरिएको छ। बदलिँदो समयसँगै फाउन्टेन पेनले आफ्नो स्थान र माग गुमाउँदै गए पनि अहिले यो पसल कलमलाई भावनात्मक ठान्ने कलम पारखीहरू  र संकलनकर्ताहरूमा निर्भर छ।

कलम मर्मतमा तल्लीन इम्तियाज

फाउन्टेन पेनको लोकप्रियता ९० को दशकमा घट्न थाल्यो र सन् २०१० सम्म जारी रह्यो। यद्यपि, त्यहाँ पछिल्लो समय पुनरुत्थान भएको छ र आफ्नो युवावस्थामा प्रयोग गर्ने धेरै मानिसहरूले यस प्रिय उपकरणमा चासो देखाउन थालेका छन्।

अहिलेको अवस्था र फाउन्टेन पेनको पुनरुत्थानबारे प्रष्ट पार्दै इम्तियाज भन्छन्, “कोभिड–१९ को महामारी र त्यसपछिको लकडाउनका बेला मानिसहरूले फाउन्टेन पेनप्रति गहिरो चासो देखाएका छन्। सायद मानिसहरूसँग फुर्सदिलो समय थियो र धेरैले दराज र लकरहरू खोले। तिनीहरूले पुस्ताहरूबाट विरासतमा पाएका अद्भुत लेखन उपकरणहरू पुनः पत्ता लगाए।”

–भारतीय सञ्चारमाध्यमहरूको सहयोगमा