माओवादीको जुलुसले ‘तिहार फ्लोरा एक्स्पो’मा असर, आयोजक चिन्तित

‘विरोध सभा अन्य स्थानमा गर्न भनेर पनि पत्र पठाएका थियौँ। तर भृकुटीमण्डपमै आयोजना गर्नुभयो। जसका कारण नर्सरी व्यवसायीले ठूलो घाटा व्यहोर्नुपरेको छ।’

काठमाडौँ– नर्सरी व्यवसायी संघको आयोजनामा ‘तिहार फ्लोरा एक्स्पो २०८१’  शुक्रबारदेखि भृकुटीमण्डपमा जारी छ। ‘तिहारको महोत्सव, फूलको उत्सव’ भन्ने नाराका साथ शुरू भएको एक्स्पो का‍त्तिक १३ गतेसम्म चल्ने छ। 

पाँच दिनसम्म चल्ने उक्त एक्स्पोमा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारिक फूल बिरुवाहरूलगायत कृषि तथा वन, जडीबुटी नर्सरी, फलफूल नर्सरी बाट उत्पादित विविध प्रजातिका बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणका लागि राखिका छन्। तर तिहारको छेको पारेर प्रदर्शनीमा राखिएका विभिन्न प्रजातिका फूल तथा बिरुवाहरू बिक्रीमा सडकमा भइरहेको प्रदर्शन र जुलुसका कार्यक्रमले असर परेको आयोजकको भनाइ छ।

माओवादी केन्द्रले शनिबार काठमाडौँमा आयोजना गरेको विरोध प्रदर्शन र यातायातमा भएको अवरोधले एक्स्पो प्रभावित बनेको छ। जुलुस गर्दा व्यावसायमा घाटा भएको नर्सरी व्यवसायी संघ नेपालका बरिष्ठ उपाध्यक्ष रबिन गौतमले बताए।

उनले भने, "६ महिना अगाडिदेखि समाज कल्याण परिषद्को कार्यालयमा गएर ठाउँ बुक गरेर कार्यक्रमको तयारी गरेका थियौँ। गत साल पनि फ्लोरा एक्स्पो आयोजना गरेका थियौँ। तर आज नेकपा माओवादी केन्द्रको विशाल विरोध सभा एक्स्पो अगाडि नै राखिदिनुभयो। ६ महिनाअघि घोषित कार्यक्रम हो, तीन महिनादेखि तयारीमा थियौँ। विरोध सभा अन्य स्थानमा गर्न भनेर पनि पत्र पठाएका थियौँ। तर भृकुटीमण्डपमै आयोजना गर्नुभयो। जसका कारण नर्सरी व्यवसायीले ठूलो घाटा व्यहोर्नुपरेको छ।"

साथै  उनले  माओवादी केन्द्रको खबरदारी जुलुसले गर्दा एक्स्पोमा आउने अवलोकनकर्ताको संख्या निकै घटेको बताए। यसरी आन्दोलनहरूले गर्दा नर्सरी व्यवसायी मारमा परेको भन्दै उनले राजनीतिक  दल र  सरकारहरूले  नै  देश बिगारेको आरोपसमेत लगाए।

उनले  भने, "देश राजनीतिक दल र  सरकारले  बिगारेको  हो। यति ठूलो कृषि मेला हुँदाहुँदै  पनि उहाँहरूले बेवास्ता गरेर अरुलाई असर पार्ने काम गर्नुभयो। नेता र पार्टीका कार्यकर्ताले गरेका कामहरूमा नेपाली जनताले सोच्नेबेला आएको  छ।"