वीरगन्ज नाकाबाट घट्यो आयात–निर्यात

चालु आवको तीन महिनामा वर्षाका कारण आयातमा कमी आएको भन्सारले जनाएको छ। समग्रमा राजस्व संकलन भने बढेको छ।

वीरगन्ज– वीरगन्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको छ।

चालु आवको तीन महिनामा १ खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ बराबरका मालसामान आयात भएका छन्। आयातमा ६.४३ प्रतिशतले कमी भएको भन्सार कार्यालयले जनाएको छ। गत आवको सोही अवधिमा १ खर्ब ५३ अर्ब ८० करोड ६३ लाख बराबरका सामान आयात भएका थिए। 

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार चालु आवको तीन महिनामा वर्षाका कारण आयातमा केही कमी आएको हो। तीन महिनामा समग्रमा राजस्व संकलन भने बढेको छ। 

यस अवधिमा वीरगन्जबाट ७ अर्ब ७६ करोड ३० लाख रुपैयाँ बराबरका उत्पादन निर्यात भएका छन्। गत आवको सोही अवधिमा ८ अर्ब ४६ करोड ७४ लाख मूल्य बराबरका सामान निर्यात भएका थिए।