फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको संख्या १०० नाघ्यो

भूकम्पका कारण पाँच लाखभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्। कम्तीमा ३६ जना हराइरहेका छन्।

तस्वीर: एपी

फिलिपिन्समा आँधी ‘ट्रामी’का कारण मृत्यु हुनेको संख्या १०० नाघेको छ। आँधीपछि आत्तिएर एउटा तालमा हाम फालेका दर्जनौँ मानिस अझै हराइरहेका छन्।

उनीहरूको खोजी भइरहेको छ। २४ अक्टोबरमा फिलिपिन्समा आएको ट्रामी यस वर्षको सबैभन्दा घातक आँधीमध्ये एक थियो। भूकम्पका कारण पाँच लाखभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्। कम्तीमा ३६ जना हराइरहेका छन्।

सबैभन्दा बढी प्रभावित बिकोल क्षेत्रमा प्रहरीले ३८ जनाको डुबेर मृत्यु भएको जनाएको छ। बिकोलका क्षेत्रीय प्रहरी निर्देशक आन्द्रे डिजोनले क्यामारिन सुर प्रान्तका धेरै मानिस अझै पनि घरको छत र माथिल्लो तलामा फसेको बताए।  “हामीलाई अझै पनि धेरै फोन आइरहेका छन्। सकेसम्म धेरै मानिसलाई बचाउने प्रयास गरिरहेका छौँ,” उनले भने, “आशा छ। त्यहाँ थप मृत्यु हुने छैन।”

मनिलाको दक्षिणमा पर्ने बाटांगासमा मृत्यु हुनेको संख्या ५५ पुगेको प्रान्तीय प्रहरी प्रमुख ज्याकिन्टो मालिनाओले बताए। क्याभिट प्रान्तमा डुबेर दुई जनाको मृत्यु भएको छ। अन्य प्रान्तमा थप पाँच जनाको शव फेला परेपछि मृतक संख्या १०० पुगेको छ।

प्रहरी, तटरक्षक र मरिन डाइभिङ टोलीले आइतबार पनि बाटांगासको तालमा हाम फालेका भनिएका सात परिवारको खोजी गरिरहेका छन्। यहाँ अधिकांशको मृत्यु वर्षाका कारण आएको पहिरोका कारण भएको बताइएको छ।

प्रत्येक वर्ष करिब २० वटा ठूला आँधीबेहरीले फिलिपिन्स र यसको वरपरका घर र पूर्वाधारमा क्षति पुर्‍याउने गरेको छ। दर्जनौँ मानिसको ज्यान लिने गरेको छ। 

एशिया–प्रशान्त क्षेत्रका आँधीबेहरी समुद्र तटको नजिक बढ्दै गएको र जलवायु परिवर्तनका कारण जमिनमा अझ तीव्र र लामो समयसम्म टिक्ने आँधी आउने हालै गरिएको एक अध्ययनले देखाएको छ।