थाई एअर एशियाको उडान निलम्बित

थाई एअर एशियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो।

काठमाडौँ– उडान अनुमति नलिई काठमाडौँ आएको थाई एअर एशियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ। थाइल्यान्डबाट काठमाडौँ आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारबाही गरेको हो। करिब एक घण्टा ‘होल्ड’ भएपछि विमान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भ'लका अनुसार थाई एअर एशियाको उडान तत्कालका लागि निलम्बन गरिएको छ। नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द भएको छ।

सूचना अधिकारी भ'लले थाई एअर एशियाको उक्त विमानको शनिबारसमम्म मात्रै उडान अनुमति रहेकाले आजको उडानलाई ‘विशेष चार्टर्ड’ उडानको अनुमति दिइएको जानकारी दिए। “विमानलाई धेरै समय होल्डिङ गर्दा सुरक्षाको विषय पनि आउँछ,” उनले भने, “यात्रुको सुरक्षा र मानवीयताको कारणले आजको उडानलाई अनुमति दिएर विमान अवतरण गरिएको हो। अब, तत्कालको लागि नेपालको सम्पूर्ण अनुमति रद्द गरिएको छ। जिएसए पनि रद्द भएको छ।”

विशेष चार्टर्ड उडान अनुमति पाएको सो विमानले काठमाडौँबाट आजै यात्रु लिएर बैंकक फर्किने विमानस्थल कार्यालयले जनाएकोछ। थाई एअर एशियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो।

प्राधिकरणले आजदेखि अन्तर्राष्ट्रिय उडानको ‘विन्टर सेड्युल’ बनाएको थियो। अनुमति नलिई विमान अवतरण गर्न खोजेपछि प्राधिकरणले कारबाही गरेको हो। प्राधिकरणले (२७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५) सम्मको उडान तालिका सार्वजनिक गरेको छ। थाई एअर एशियाले गत असोज १६ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनःउडान शुरू गरेको थियो।