जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन

उक्त पत्रकार सम्मेलनमा ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको ‘एभरेस्ट टुरिजम अवार्ड, २०२४’ आयोजना हुने जानकारी गराइएको छ।

सोलुखुम्बु– जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन गरिएको छ। उक्त पत्रकार सम्मेलनमा ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको ‘एभरेस्ट टुरिजम अवार्ड, २०२४’ आयोजना हुने जानकारी गराइएको छ।

आइतबार सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको कालापत्थर (५,६५३ मिटर उचाइ)मा आयोजित पत्रकार सम्मेलनमा आयोजक एएमएस म्युजिक एन्ड इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष सत्यकला तामाङ लामाले अवार्ड कार्यक्रम आगामी डिसेम्बरमा काठमाडौँमा हुने जानकारी दिए।

मुलुकको पर्यटन क्षेत्रको विकास, प्रचारप्रसार तथा प्रवर्द्धनमा उल्लेख्य योगदान पुर्‍याउने राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थालाई मूल्यांकनका आधारमा सम्मान तथा अवार्ड वितरण गरिने उनले बताए। उनका अनुसार कूल ४० देखि ५० वटा विधामा अवार्ड प्रदान गरिनेछ।

अवार्ड कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुतिसमेत रहने अध्यक्ष लामाले जानकारी दिए। उनका अनुसार अवार्ड वितरण गर्न सम्बन्धित विषयविज्ञ सम्मिलित एक मूल्यांकन एवं छनोट समिति गठन भइसकेको छ।

उनले पछिल्ला केही वर्षयता जलवायु परिवर्तनको प्रभाव हिमाली क्षेत्रमा परिरहेकाले यसले पर्यटन क्षेत्रमा पनि असर गरिरहेकाले बताउँदै यस विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउन कालापत्थरमा पत्रकार सम्मेलन आयोजना गरिएको बताए।

“पाँच हजार ६५३ मिटरको उचाइमा आयोजित यो सम्भवतः पहिलो पत्रकार सम्मेलन हो, यहाँबाट हामीले विश्वलाई जलवायु परिवर्तनको अवस्थाबारे बुझाउने अपेक्षा गरेका छौँ,” अध्यक्ष लामाले भने।

कम्पनीका प्रबन्ध निर्देशक फुर्बा ग्याल्बो मोक्तान (थुप्तेन)ले जलवायु परिवर्तनले सबैभन्दा बढी हिमाली क्षेत्र प्रभावित भएको उल्लेख गर्दै हिमाल बचाउनका लागि ढिला गर्न नहुनेमा जोड दिए।