पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै फाइनलमा पुग्यो नेपाल

पेनाल्टी सुटआउटमा नेपालले भारतलाई ४–२ गोल अन्तरले पराजित गरेको हो।

काठमाडाैँ– साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा टाइब्रेकरमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पेनाल्टी सुटआउटमा नेपालले भारतलाई ४–२ गोल अन्तरले पराजित गरेको हो।

गोल विवादले गर्दा एक घण्टाभन्दा बढी लम्बिन पुगेको खेलमा दुवै टोलीले १/१ गोल गरेपछि पेनाल्टी सुटआउटमा गएको थियो। खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। ५१औँ मिनेटमा नेपालकी रेखा पौडेलले दोहोरो पँहेलो कार्ड पाई मैदान छाड्नुपरेको थियो। 

नेपाल १० खेलाडीमा सीमित भएर कमजोर बनेको माैकामा भारतले गोल गरेको थियो। सो गोल गरेर लामो समयसम्म सेलिब्रेसन गरिरहेका भारतीय खेलाडीलाई रेफ्रीले खेलका लागि आग्रह गर्दा पनि नआएपछि नेपाली टोलीले बल चलाएर प्रिति राईले बललाई जाली चुमाएकी थिइन्। तर उक्त गोललाई रेफ्रीले मान्यता नदिँदा लामो समयसम्म खेल रोकिन पुगेको थियो। यसरी अवरुद्ध भएर खेल पुन: शुरू भएलगत्तै नेपालकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन्।

साफको सेमिफाइनलमा नेपाल र भारतबीच यो दोस्रो पटकको प्रतिस्पर्धा भएको हो। सन् २०२२ मा दशरथ रंगशालामै भएको सेमिफाइनलमा नेपालले भारतलाई पराजित गरेको थियो। यद्यपि नेपाल फाइनलमा बांग्लादेशसँग पराजित भएको थियो। 

यस पटक पनि नेपालले फाइनलमा बुधबार बांग्लादेशसँग खेल्नेछ। दशरथ रंगशालामा नै आज दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा बांग्लादेशले भुटानलाई ७–१ गोलअन्तरले पराजित गर्दै फाइनलका लागि स्थान बनाइसकेको छ।