अमेरिकासँग नेपाल ३ विकेटले पराजित

नेपालले दिएको २८७ रनको लक्ष्य पक्ष्याएको अमेरिकाले ७ विकेटको क्षतिमा दुई बल अगावै २९१ रन बनाउँदै नेपाललाई पराजित गर्‍यो।

काठमाडाैँ– आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृंखलाको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको छ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा आइतबार राति भएको खेलमा नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ७ विकेटको क्षतिमा दुई बल अगावै २९१ रन बनाउँदै पूरा गर्‍यो।

अमेरिकाको जितमा ओपनर शयान जहाँगिरले ९७ बलमा १२ चौका र ४ छक्कासहित १०४ रनको शतकीय पारी खेले। कप्तान मोनांक पटेलले ७६ बलमा ५ चौका प्रहार गर्दै ६२ रन बनाए। नेपालका लागि कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए। सोमपाल कामीले २ र ललित राजवंशीले १ विकेट हात पारे।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा १० विकेट गुमाएर २८६ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडलले शानदार प्रदर्शन गरे। उनले ७५ बलमा ९६ रन बनाए। सोही क्रममा उनले तीन छक्का र ८ चौका प्रहार गरे।

नेपालका लागि अनिल साहले ६२ बलमा ५६ रन बनाए। उनले ५ चौका प्रहार गरे। यस्तै आशिफ शेखले ५३ बलमा एक छक्का र ७ चौकासहित ५२ रन बनाए।  कुशल भुर्तेलले ११, आरिफ सेखले ३७, दीपेन्द्रसिंह ऐरीले १३, गुल्सन झाले १, सोमपाल कामीले २, ललित राजवंशीले १, सन्दीप लामिछानेले ५ र करण केसीले ३ रन बनाएर आउट भए।

नेपालले अब दोस्रो खेल मंगलबार स्कटल्यान्डसँग खेल्नेछ। लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्यान्ड, नामिबिया, ओमान र यूएई सम्मिलित छन्।