दुई दिनका लागि गाजामा युद्धविराम गर्न इजिप्टको प्रस्ताव

इजिप्टका राष्ट्रपतिले सार्वजनिक रूपमा यस्तो योजना प्रस्ताव गरेको यो पहिलो पटक हो।

गाजापट्टीमा प्यालेस्टिनी शरणार्थीहरूको शिविर नजिक भवनको भग्नावशेषमा आफ्ना बच्चाहरूसँग चिया बनाउँदै एक प्यालेस्टिनी व्यक्ति/ तस्वीर: एएफपी

इजिप्टले दुई दिनका लागि गाजामा युद्धविराम गर्न प्रस्ताव अघि सारेको छ। इजिप्टका राष्ट्रपति अब्देल फताह ल सिसीले आइतबार इजिप्टले गाजामा दुई दिने युद्धविरामको प्रस्ताव गरेको बताएका छन्।

यस युद्धविराममा केही प्यालेस्टिनी कैदीहरूको लागि चार इजरायली बन्धकहरू साटासाट गर्न प्रस्ताव गरिएको छ। उनले इजरायली बन्धकहरूको रिहाई बाहेक यो प्रस्तावमा १० दिने वार्ता पनि समावेश गरेको बताए। इजिप्ट, कतार र अमेरिका प्रमुख मध्यस्थकर्ता छन्। इजिप्टका राष्ट्रपतिले सार्वजनिक रूपमा यस्तो योजना प्रस्ताव गरेको यो पहिलो पटक हो। इजरायल वा हमासबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।

गत हप्ता, इजरायली सुरक्षा एजेन्सी शिन बेटका प्रमुख रोनेन बारले यसलाई इजरायलको राष्ट्रिय सुरक्षा क्याबिनेटमा प्रस्तुत गरेका थिए। अधिकांश मन्त्री र सुरक्षा अधिकारीहरूले यो विचारलाई समर्थन गरे, जबकि वित्त मन्त्री बेजलेल स्मोट्रिच र राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन गभिरले यसको विरोध गरेका थिए। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्रस्तावलाई मतदानमा नराख्ने निर्णय गरेका छन्। उनले रोनेन बारलाई थप वार्ताको लागि इजिप्ट पठाएको बताइएको छ।

इजरायली सञ्चारमाध्यमहरूले भने हमासले इजिप्टको प्रस्ताव स्वीकार गर्न इच्छुक रहेको जनाएका छन्। हमासले इजिप्टको प्रस्तावलाई इजरायलले पनि पालना गर्ने आश्वासन मागेको समाचारमा बताइएको छ।

इजिप्टको यो प्रस्ताव यस महिनाको शुरूमा इरानले ब्यालेस्टिक मिसाइल आक्रमणको जवाफमा इरानमा इजरायली हमला गरेको एक दिनपछि आएको हो।

इजरायली खुफिया एजेन्सी मोसादका प्रमुख डेभिड बर्निया सीआईए निर्देशक बिल बर्न्स र कतारी प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीसँग बन्धकहरूलाई रिहा गर्ने विषयमा वार्ता गर्न आइतबार दोहा गएका छन्।

इजिप्टमा भर्खरैको बैठकमा, डेभिड बर्नियाले बन्धकहरूको रिहाइको बदलामा गाजाबाट सुरक्षित मार्ग प्रस्ताव गरेका थिए। तर हमासले तुरुन्तै प्रस्ताव अस्वीकार गर्‍यो। हमासका उपप्रमुख खलील अल–हयाले यो प्रस्तावले हमासप्रति इजरायलको गलत बुझाइ झल्काएको दाबी गरे।

गत नोभेम्बरमा १०५ बन्धकहरूलाई २४० प्यालेस्टिनी कैदीहरूको सट्टामा रिहा गरिएको ११ महिना भइसकेको छ। त्यसपछि अर्को युद्धविराम हुन सकेको छैन। अझै १०१ जना हमासको नियन्त्रणमा रहेका इजरायलले जनाएको छ। यस पटक पनि वार्ता नभए द्वन्द्व अझै लम्बिने खतरा छ। 

गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो। उक्त आक्रमणमा हजारौँ इजरायली नागरिक मारिएका थिए। आक्रमणसँगै हमासले इजरायलबाट २५० भन्दा बढी मानिसलाई बन्धक बनाएर लगेको थियो। नेपालका विपिन जोशी पनि हमासको नियन्त्रणमा रहेको बताइएको छ।