एलडीपी नेतृत्वको गठबन्धनले बहुमत गुमाउने अनुमान गरिएसँगै इशिबाले ‘राजनीतिक शून्यता’ हुन नदिने बताउँदै सत्तामा रहिरहने प्रतिबद्धता जनाएका हुन्।
जापानका प्रधानमन्त्री शिगेरु इशिबाले मध्यावधि निर्वाचनमा आफ्नो गठबन्धनले अपेक्षित नतिजा नल्याए पनि सरकारको नेतृत्वमा रहिरहने प्रतिबद्धता जनाएका छन्। इशिबाले अक्टोबर १ मा पदभार ग्रहण गरेको केही दिनपछि अक्टुबर २७ का लागि निर्वाचनको घोषणा गरेका थिए।
सन् १९५५ देखि जापानमा शासन गरिरहेको उनको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)को यस चुनावमा निकै कमजोर नतिजा देखिएको छ। एलडीपी नेतृत्वको गठबन्धनले बहुमत गुमाउने अनुमान गरिएसँगै इशिबाले ‘राजनीतिक शून्यता’ हुन नदिने बताउँदै सत्तामा रहिरहने प्रतिबद्धता जनाएका हुन्।
इशिबाले पत्रकारसँग कुराकानी गर्दै जापान र जापानी जनताको रक्षा गर्दै आफ्नो कर्तव्य पूरा गर्न चाहने बताए। सबैभन्दा ठूलो चुनावी कारक पार्टीका जिम्मेवार नेताको नै आर्थिक अनियमिततासँग जोडिएका मुद्दामा सम्लग्नता देखिनु र यसबाट जनतामा एलडीपीप्रति ‘शंका, अविश्वास र क्रोध’ सिर्जना हुनु नै रहेको बताइएको छ।
“म पैसा र राजनीतिको विषयमा आधारभूत सुधार गर्नेछु,” इशिबाले पत्रकारहरूसँग भने, “मतदाताहरूले पार्टीमाथि ‘कठोर निर्णय’ दिएका छन्।”
राष्ट्रिय प्रसारक एनएचके र अन्य सञ्चारमाध्यमले सार्वजनिक गरेको एक्जिट पोल र नतिजाले एलडीपी र यसको कनिष्ठ गठबन्धन साझेदार कोमिइतोका लागि १५ वर्षयताकै सबैभन्दा खराब नतिजा देखाएपछि येनको मूल्य तीन महिनायताकै न्यून विन्दुमा झरेको छ।
जापानको संसद्को ४५६ सदस्यीय तल्लो सदनमा कम्तीमा २३३ सिट जित्ने इशिबाको घोषित लक्ष्य पूरा गर्न उनीहरू असफल हुने अनुमान निर्वाचन सर्वेक्षण नतिजाले यसअघि नै गरेका थिए।
एनएचकेका अनुसार एलडीपीले १९१ सिट जितेको छ। सन् २०२१ को चुनावमा एलडीपीले २५९ र कोमेइतोले २४ सिट जितेका थिए। सोमबार साँझसम्म आधिकारिक परिणाम आउने अनुमान गरिएको छ।
चुनावअघि जापानी सञ्चारमाध्यमले यदि निर्वाचनमा एलडीपीले हार ब्यहोर्नु परेमा इशिबाले पद छोड्ने र विश्वयुद्धपछिको समयमा जापानको सबैभन्दा छोटो सेवा गर्ने प्रधानमन्त्री बन्नसक्ने अनुमान गरेका थिए। एलडीपीको निर्वाचन समितिका प्रमुख तथा पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा शिन्जिरो कोइजुमीले घोषित निर्वाचन परिणामसँगै राजीनामा दिएका छन्।
विश्लेषकहरूका अनुसार अर्को कदम भनेको इशिबाले अब अल्पमतको सरकारको नेतृत्व गर्ने प्रयास गर्नेछन् किनभने विभाजित विपक्षीहरू सम्भवतः आफ्नै गठबन्धन बनाउन अक्षम देखिएका छन्।
इशिबाले सोमबार दिएको प्रतिक्रियामा आफूले ‘अहिले नै’ व्यापक गठबन्धन बनाउनेबारे विचार नगरेको बताउनुभएको छ।
युनिभर्सिटी अफ टोकियोका राजनीतिशास्त्रका प्राध्यापक यु उचियामाले एएफपीसँग भन्नुभयो, “पूर्वप्रधानमन्त्री शिन्जो आबेसँग आबद्ध सांसदहरू इशिबाको नेतृत्वप्रति उदासीन छन्, त्यसैले उनीहरूले बदला लिने मौकाको फाइदा लिन सक्छन्।”
“एलडिपी सीट सङ्ख्या यति धेरै कम भएको छ र यसले उनीहरूलाई पनि चोट परेको छ। त्यसैले उनीहरूले बदलाको भावभन्दा माथि उठेर तत्कालका लागि इशिबालाई समर्थन गर्न सक्दछन्। उनीहरूले यो आन्तरिक कलहको समय नभएको निक्र्योलमा पुग्न सक्छन्,” उचियामाले भन्नुभयो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
