वीरगन्जमा दीपावलीलक्षित रात्रि बजार लाग्दै

रात्रि बजारमा परम्परागत खानाका परिकार, साना तथा घरेलु उद्यमीले उत्पादन गरेका वस्तु तथा सामानसमेत प्रदर्शनीमा राखिनेछ।

पर्सा– दीपावलीका अवसरमा वीरगन्जको पुरानो बसपार्क आर्दशनगरमा सोमबारदेखि रात्रि बजार लाग्ने भएको छ।

वीरगन्ज महानगरपालिका र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा बिहीबारसम्म बजार लाग्नेछ।  

प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले रात्रि बजारमा घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु तथा सामानलाई प्रोत्साहन गर्ने खालका ३० भन्दा धेरै स्टल राखिने जानकारी दिए। 

“घरेलु तथा साना उद्यम गर्दै आएका उद्यमीलाई प्रोत्साहन गर्नका लागि रात्रि बजार आयोजना गर्न लागेका हौँ,” उनले भने, “रात्रि बजारमा परम्परागत खानाका परिकार, साना तथा घरेलु उद्यमीले उत्पादन गरेका वस्तु तथा सामानसमेत प्रदर्शनीमा राखिनेछ।” 

रात्रि बजारमार्फत स्थानीय रूपमा वस्तु तथा सामानको बजारीकरणमा पनि टेवा पुग्ने विश्वास लिएको उनले बताए।

रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडा लगायतका सरसामानका स्टल पनि राखिने आयोजकले जनाएको छ। अध्यक्ष खेतानले कात्तिक १५ गते लक्ष्मीपूजाको दिनमा भने विशेष सांस्कृतिक कार्यक्रम पनि हुने जानकारी दिए।