कृपाश्वर घले गुरुङले फलसँगै बिरुवा बिक्री गरेर पनि राम्रो आम्दानी हुने गरेका छन्। बिरुवा मात्र बेचेर वर्षमा दुई लाख रुपैयाँभन्दा बढीको आम्दानी हुने गरेको उनको भनाइ छ।
सुनसरी– २८ वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई कृपाश्वर घले गुरुङ घर फर्किए। सुनसरीको तरहरास्थित आफ्नो घर फर्किँदा अवकाशको जीवन कसरी बिताउने पत्तो थिएन।
२१ वर्षअघि मलेसियाका साथीले नेपाल आउँदा ल्याइदिएको बिरुवाले यसरी फल दिन्छ भन्ने उनले सोचेका पनि भएको थिएन। ड्रागन फलको त्यही बिरुवाबाट अहिले उनी यसको व्यावसायिक खेतीमा क्रियाशील भएका छन्। शुरूमा त उनलाई थाहा थिएन, यो फल यत्ति महँगो र स्वास्थ्यका लागि लाभदायी हुन्छ भनेर।
अन्य फलको तुलनामा यसको मूल्य निकै रहेकाले उनी यसतर्फ आकर्षित भएका हुन्। व्यवसाय शुरू गर्दा स्थानीय बजारमा पनि प्रतिकेजी एक हजार २०० रुपैयाँमा बिक्री हुने थाहा पाएपछि उनी निकै हौसिएका थिए। अहिले उनलाई आफूले उत्पादन गरेको ड्रागन फलको बजारीकरणमा कुनै समस्या छैन। भाटभटेनी सुपरमार्केसँग समन्वय गरी बिक्री गर्ने गर्ने गरेका छन्।
केही वर्षअघि रामधुनी नगरपालिका–७ रानीपोखरीमा किनेको एक बिघा जग्गा त्यत्तिकै उपयोगविहीन नै थियो। त्यही जग्गामा दुई सय वटा ड्रागनको बिरुवा लगाएर खेती शुरू गर्ने निधो गरे। शुरूमा त उनलाई धेरैले गलत निर्णय गरेको भन्दै आलोचना पनि गरे तर उनी आफ्नो योजनामा प्रस्ट थिए। त्यति बेला पूर्वमा ड्रागनखेती गर्नेको संख्या थोरै थियो। कोही–कोहीले घरको छत र बारीमा दुई/चार बोट मात्रै लगाएका थिए।
अन्य फलफूल वर्षमा एक पटक मात्र उत्पादन गर्न सकिन्छ भने ड्रागन फल वर्षमा १० पटकसम्म फलाउन सकिन्छ। “राम्रो उत्पादनसँगै आम्दानी पनि राम्रो हुने गरेको छ। अहिले वार्षिक ५० लाख रुपैयाँ सजिलैले आम्दानी हुने गरेको छ,” उनले भने। यसको खेतीमा मल, कर्मचारी खर्च सबै गरी वार्षिक १२ लाख रुपैयाँ जति खर्च हुने गरेको उनले बताए।
फलसँगै उनले बिरुवा बिक्री गरेर पनि राम्रो आम्दानी हुने गरेका छन्। बिरुवा मात्र बेचेर उनले वर्षमा दुई लाख रुपैयाँभन्दा बढीको आम्दानी गर्दै आएका छन्। पूर्वमा ड्रागनखेती गर्ने ८० प्रतिशतभन्दा बढी किसानले यहीँबाट बिरुवा खरिद गरेर लाने गरेको उनको भनाइ छ।
उनले शुरूआतमा फलबाट भन्दा धेरै बिरुवा बिक्री गरेर आम्दानी गरेका थिए। “पहिले बिरुवा एक बोटको २०० देखि ४०० रुपैयाँसम्म बिक्री गर्ने गरेकामा अहिले भने प्रतिबिरुवा ५० रुपैयाँमा बिक्री हुने गरेको छ,” उनले भने।
फल भने खुद्रामा अहिले ४०० तथा थोकमा ३५० रुपैयाँमा बिक्री हुने गरेको उनले बताए। व्यावसायिक रूपमा ड्रागनखेती गर्न थालेपछि उनले तर्जुमा ड्राइगन फ्रुट कृषि फार्म नै दर्ता गरेका छन्। उनको फार्ममा प्रत्यक्ष अप्रत्यक्ष धेरैले रोजगारी पनि पाएका छन्।
उनको देखासिकी गरी अहिले धेरै युवाले ड्रागनखेती गर्न थालेका छन्। सुनसरीको तरहरामा जन्मिएका भारतीय पूर्वलाहुरे कृष्णकुमार घले १७ वर्ष भारतीय सेनामा बिताएपछि २०७४ सालमा निवृत्त भई नेपाल फर्किएका थिए। उनले नेपाल फर्केपछि बाँकी समय किन त्यत्तिकै खेर फाल्ने भन्ने सोचले व्यवसाय गर्ने निधो गरे। शुरूमा उनले सुनसरीको रामधुनी नगरपालिका–७ रानीपोखरीमा कागतीखेती शुरू गरे, दुई वर्षजति कागतीखेतीमै बित्यो।
पछि कागतीखेतीबाट सोचे जस्तो आम्दानी हुन नसकेपछि उनले एक बिघा जग्गामा शुरू गरेको कागतीखेतीमा डोजर लगाएर हटाए। “कागतीखेतीबाट त्यति नराम्रो नै चाहिँ भएको हैन तर जति आम्दानी हुन्छ भनेर शुरू गरेको कागतीखेती त्यति आम्दानी भएन,” उनले भने।
काका कृपाश्वर घलेको ड्रागनखेती देखेर त्यहीँबाट प्रेरित भएर ड्रागनखेती शुरू गरेको उनले बताए। उनले २०७५ फागुनमा तमु कृष्ण बहुद्देश्यीय कृषि फार्म दर्ता गरेर एक बिघाको पूरै जमिनमा ड्रागनखेती शुरू गरेका छन्।
कागतीखेतीको तुलनामा अहिले ड्रागनखेतीबाट राम्रो आम्दानी भइरहेको उनको भनाइ छ। वार्षिक ४० लाख रुपैयाँ बढी आम्दानी हुन्छ। खेतीमा मल, काम गर्ने कर्मचारीलाई ज्याला सबै खानपानी गरेर वार्षिक रूपमा १० लाख रुपैयाँ जति खर्च हुने गरेको उनले बताए।
ड्रागनखेती शुरू गरेपछि आर्थिक रूपमा सबै व्यवस्थित हुँदै गएको, किसान र व्यापारीका लागि पनि आकर्षक कृषि फार्मको केन्द्रका रूपमा विस्थापित भएको उनले बताए। उनका अनुसार उत्पादन भएको फल बिक्रीका लागि समस्या छैन। पूर्वी पहाडी भेगका व्यापारी ड्रागन खरिद गर्नका लागि फार्ममा पुग्ने गरेका छन्। स्थानीय बजारका व्यापारी पनि खरिदका लागि फार्ममै पुग्ने गरेको उनले बताए।
बिक्रीका लागि धेरैजसो इटहरी, धरान, विराटनगरमा मात्र नभई काठमाडौँ, पोखरासम्म पठाउने गरेको उनको भनाइ छ। यो फलफूल फुल्न शुरू गरेको ४५ दिनमा फल पाक्ने हुँदा वार्षिक रूपमा सजिलैसँग १६ देखि २० मेट्रिक टनसम्म उत्पादन हुने गरेको उनले बताए।
अहिले सुनसरीको रामधुनी नगरपालिका–७ मा मात्र १० घरधुरीभन्दा बढीले ड्रागन खेती गर्दै आएका छन्। विदेशबाट फर्केका युवा पछिल्लो समय ड्रागन खेतीतर्फ आकर्षित भएका छन्। कतिपय विदेश जान लागेका युवाले पनि आफ्नै देशमा व्यवसाय गरे आम्दानी गर्न सकिने रहेछ भन्ने प्रेरणा उनीबाट लिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
