१ सातामा दोस्रो पटक विमानमा बम राखिएको हल्ला

प्रहरीले काठमाडौँबाट नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा बम रहेको हल्लापछि जाँच भइरहेको तर हालसम्म कुनै शंकास्पद वस्तु फेला नपरेको जनाएको छ।

फाइल तस्वीर

काठमाडौँ– पछिल्लो समय हवाई उडानमा सुरक्षा अफवाह आइरहेका छन्। अज्ञात समूहबाट एक साताको अवधिमै नेपालमा दुई पटक यस्तो अफवाह फैलाइएको छ । 

काठमाडौँबाट भारतको नयाँ दिल्ली सोमबार उड्न लागेको एयर इन्डियाको विमानमा बम राखेको हल्लापछि विमानमा सवार यात्रुलाई ओराले जाँच भइरहेको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार एयर इन्डियाको विमानमा बमको हल्लापछि अहिले जाँच भइरहेको छ। हालसम्म कुनै शंकास्पद वस्तु फेला परेको छैन।

“भारतबाट नेपाल आउने विमानमा बम राखिएको हल्ला आइरहेको छन् तर अहिलेसम्म त्यस्तो कुनै शङ्कास्पद बस्तु फेला परेको छैन”, प्रवक्ता कार्कीले भने।

एयर इन्डियाको एआई–२१६ विमानमा बमको हल्लापछि अहिले विमानको जाँच भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए। उक्त विमानको जाँच प्रक्रिया चलिरहे पनि विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ।

दिउँसो २ बजे काठमाडौँ विमानस्थलमा अवतरण भएको एयर इन्डियाको विमानमा बम राखेको अज्ञात समूहबाट जानकारी आएपछि नेपाली सेना र नेपाल प्रहरीको विशेष टोलीले जाँच गरिरहेको छ। सो विमान काठमाडौँबाट १५८ यात्रु लिएर दिल्ली उड्ने तयारीमा थियो।

यसअघि यही कात्तिक ६ गते भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा बम राखेको हल्ला फैलिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको विस्फोटक पदार्थ निस्किृय गर्ने विशेष टोलीले खानतलासी गरेको थियो। 

भारतको नयाँ दिल्लीबाट भिस्ताराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त विमानमा बम राखेको फोन दिल्लीबाटै आएको सूचनाका आधारमा जाँच गरिएको थियो। उक्त विमानमा पनि कुनै शंकास्पद वस्तु फेला परेको थिएन।