महिनावारीबारे फरक समुदायमा फरक सोच कसरी निर्माण भयो? कुनै समाज कट्टर किन भयो र कुनै समाजमा यो छोइछिटोको विषय किन भएन?
हरेक वर्ष चाडपर्वको छेकोमा अन्य केही विषयझैँ महिनावारीको विषय सामाजिक सञ्जालमा अलिक धेरै सलबलाउन थाल्छ:
‘आज त मेरो पिरियड भएको तीन दिन, धन्न दशैँ/तिहारको टीका लगाउन पाउने भएँ।’
‘मेरो त आज पिरियड भएको दुई दिन भयो, दशैँ/तिहारको टीका लगाउन मिल्ला?’
यी विचार र प्रश्नहरूमा ‘सहज’ ऐक्यबद्धता जनाउँदै केही यस्ता प्रतिक्रिया लस्करै देखिन्छ, जसले यो बहस सलबलाउन विशेष भूमिका खेलिदिन्छन्।
‘मिन्स भा’को पाँच दिन नभई त टीका लगाउन हुँदैन हाम्रोतिर त। फुको टीकासम्म चाहिँ लगाउनुभए हुन्छ।’
‘मैले त औषधि खाएर पिरियड पछाडि सारेको, वर्ष दिनको चाडमा त लगाउनुपर्यो नि टीका।’
कमेन्टको 'वर्षा' हुने त्यस्ता बहसमा आएका यी केही प्रतिनिधि भनाइ हुन्। समान प्रकारका यस्ता कमेन्टले कमेन्ट बक्समै कहिलेकाहीँ फरक परिवेश, संस्कृति, बुझाइ र व्यवहार भएकाहरूको जुहारी पनि चल्छ। बर्सेनि दोहोरिइरहने यो बहसमा अनेकन् सोच, विचार र शैलीका प्रतिनिधित्व भेटिन्छन्। अनि त्यस्ता विचार निर्माण गर्ने सामाजिक, सांस्कृतिक, शैक्षिक, भौगोलिक, राजनीतिक, मनोसामाजिक चेत तथा परिवेश कस्तो होला भनेर सोच्न बाध्य भइन्छ।
त्यही सोचलाई पर्गेल्न हामी बेलाबखत ती विचार साझा गर्नेहरूको सामाजिक सञ्जालका भित्ताहरू चहार्छौं। ती भित्तामा देखिएका अनुहार, लेखिएका बायो र शेयर गरिएका शब्दहरूले सजिलै अनुमान गर्न सकिन्छ, यस्ता विचार साझा गर्ने व्यक्तिमध्ये धेरैजसो पढेलेखेका, सूचना प्रविधिमा जानकार र देश दुनियाँबारे धेरथोर ज्ञान भएका पुस्ताबाटै ‘प्राकृतिक प्रक्रिया महिनावारी’बारे संकीर्ण धारणा प्रसार हुनु लाजमर्दो हो।
विचार साझा गर्नेको त्यस्तो भीडमा एकाध यस्ता विचार पनि हुन्छन्, जसका विचारले समाजका लागि परिवर्तनको मधुरो प्रकाश छरिदिन्छन्:
‘ह्या म त पिरियड भए पनि कसैलाई नभनी टीका लगाउने हो। वर्ष दिनको चाड पो हो त।’
‘म त बार्नेओर्ने कुरै मान्दिनँ। पिरियड त न्याचुरल प्रोसेस हो नि यार! लेट्स सेलिब्रेट इट विथ प्राइड।’ (यो प्राकृतिक विषय हो। गर्वका साथ चाड मानौँ न!)
अत्यन्त थोरै संख्यामा भेटिने पछिल्ला प्रतिक्रियाले महिनावारीको रूढिवादी व्याख्यालाई गलत मान्नेहरू पनि छन् है समाजमा भन्ने दर्साउँछ। यो बहस चाडपर्वको समयमा बढी हुने गरे तापनि विभिन्न संस्कार, कर्मकाण्डलगायत अवसरदेखि दैनिक जीवनमा पनि जोडिने गर्छन्।
‘पिरियड भएको कति दिनमा मन्दिर जान/व्रत बस्न/पितृकार्यमा सहभागी हुन हुन्छ?’ जस्ता प्रश्न, जिज्ञासामा क्रियाप्रतिक्रिया वर्षभरि नै हुने गर्छ। यो निरन्तरको प्रक्रियाले महिनावारीबारे ‘स्वस्थ’ र ‘आवश्यक’ बहसको थालनी सामाजिक सञ्जालमा व्यापक रूपमा नभए तापनि महिनावारीसँग जोडिएको विभेद र छोइछिटोबारे जनमत बुझ्न भने धेरै सहयोग पुग्छ।
यस्ता क्रियाप्रतिक्रियाले के देखाउँछ भने व्यक्ति पढेलेखेको र आर्थिक तथा सामाजिक हैसियतले सम्पन्न हुँदैमा तिनको चेतना र सोचमा परिवर्तन आउँदैन। त्यस्ता धारणाका पछाडि पुस्तौँदेखिको विश्वास र व्यवहार, धर्मप्रतिको आस्था, पारिवारिक संस्कारले दिएको दृष्टिकोणजस्ता कुराले भूमिका खेल्दो रहेछ।
विद्यमान धर्म, संस्कृति, भौगोलिक अवस्था र परम्पराअनुसार महिनावारीबारे नेपाली समाजमा फरक बुझाइ र अभ्यास प्रशस्त भेटिन्छन्। नेपालको पूर्वी पहाडी भेग र सुदूरपश्चिमको पहाडी भेगमा नै महिनावारीबारे फरक धारणा र व्यवहार छन्। मैथिली, नेवार, ब्राह्मण, हिमाली र आदिवासी जनजाति सबैका महिनावारीबारे अलग बुझाई र मान्यता छ।
सुदूरपश्चिमका राना थारूदेखि पश्चिम, मध्यपश्चिम र मधेशका थारूमा यसबारे पृथक् अभ्यास छ। त्यही सुदूरपश्चिमको एउटा समुदायमा महिनावारीबारे अत्यन्तै रूढ विचार छ। जहाँ छाउगोठ ठीक कि बेठीक भन्ने बहस त अझै छ नै, यसैलाई धर्म र पापसँग जोडेर व्याख्या विश्लेषण गर्ने पनि प्रशस्त भेटिन्छन्। विशेष गरी बहुसंख्यक पहाडिया खस ब्राह्मणमा यसबारे सबैभन्दा धेरै रुढी विचार र व्यवहार अभ्यासमा छन्।
महिनावारीबारे फरक समुदायमा फरक सोच कसरी निर्माण भयो? कुनै समाज कट्टर किन भयो र कुनै समाजमा यो छोइछिटोको विषय किन भएन? यसका पछाडि के कस्ता सांस्कृतिक अभ्यास जिम्मेवार छन् र उक्त समाजभित्रको शक्ति सम्बन्ध कस्तो छ? सांस्कृतिक अभ्यास, त्यसभित्र निर्माण भएका मिथकहरू र शक्तिसम्बन्धीको अभ्यास केलाउँदै जाने हो भने महिनावारीबारे धेरै भ्रम सजिलैसँग चिरफार गर्न सकिन्छ।
महिनावारीबारेको यही असमान र अमान्य व्यवहार किन अझै अभ्यासमा छन्, महिनावारीबारे समाजको एउटा समूह उदार हुँदै गइरहँदा, अर्को तप्का भने किन कट्टर नै भइरह्यो? महिनावारीबारेका संकुचित विचार कसरी निर्माण भए र आजसम्म किन त्यही संचुकित मानसिकताले प्रशय पाइरह्यो? पारिवारिक संस्कारका कारण कि धार्मिक आस्थामा ठेस पुग्ने डरले? वा कुनै समयमा बनेको मानव निर्मित धार्मिक कानूनलाई नै सर्वेसर्वा मान्दै संस्कार/संस्कृति निरन्तरता दिन्छु भन्ने अडानले? हामीले यस विषयमा लेखक सरला गौतमसँग कुराकानी गरेका थियौँ।
गौतमका अनुसार महिनावारी बार्ने र छोइछिटोको विषय बनाउने कुरालाई महिला र पुरुषबीचको शक्तिसम्बन्धीको अभ्यासको इतिहासबाट हेर्नुपर्ने हुन्छ। उनले भनिन्, “महिनावारीको सम्बन्ध चाहिँ शक्तिपूजासँग वा महिला र पुरुषको शक्तिसम्बन्धीको राजनीतिसँग जोडिएको छ।”
गौतमको बुझाइमा परिवार भन्ने संस्थाको निर्माण भएपछि आफ्नो शक्ति खोज्ने क्रममा पुरुषले आफ्नो वीजलाई चेतनासँग जोडिदियो र महिलाको सिर्जना शक्तिलाई आफ्नो चेतनाभन्दा कमजोर हो भन्ने भाष्य निर्माण गरिदियो।
गौतमले भनिन्, “त्यो भाष्य निर्माण गर्न त्यतिबेलाकाे परिवेशमा पुरुषका लागि आवश्यक पनि थियो। महिलालाई कमजोर बनाइसकेपछि आफूलाई सर्वश्रेष्ठ हुँ भनेर चिनाउन सक्थ्यो। एक वा एकभन्दा बढी महिलासँग विवाह गर्न, विवाहपछि जन्मिने सन्तानलाई आफ्नो वंशको उत्तराधिकारीका रूपमा सम्पत्ति हस्तान्तरण गर्दै, 'निर्णय लिने र कार्यान्वयन गर्ने'जस्ता गहन भूमिकामा पुरुष सक्षम र सर्वशक्तिमान् हो भन्ने प्रस्ट्याउन सहयोग मिल्थ्यो। सम्पत्ति हस्तान्तरण प्रक्रियासँग जोडिएको शक्ति सम्बन्धको अभ्यास विवाह, परिवार संस्थासँगै महिनावारीसँग पनि जोडिएको रहेछ।”
महिनावारीसँग जोडिएका जति पनि कुप्रथा छन्, त्यसमा शक्तिको राजनीति जोडिएकोमा दुई मत छैन। यस्तो शक्तिको राजनीतिले महिलाको अस्तित्व कमजोर छ भनेर देखाउँछ। महिनावारीका बेला महिलाले भोग्नुपर्ने सारा मानसिक, शारीरिक पीडा र परिवर्तनलाई बेवास्ता गर्दै तिनलाई अलग्याएर राख्छ। महिनावारीमा बग्ने रगतलाई अपवित्र मान्दै महिनावारीको समयमा केही 'शुभ कार्य' गर्यो भने त्यसलाई 'पाप'को संज्ञा दिन्छ। सदियौँदेखि चल्दै आएको यस्तो परम्पराले महिनावारीलाई देखाएर महिलालाई कमजोर देखाउने र तिनैमाथि शासन गरिराख्ने प्रवृत्ति आज पनि व्याप्त भेटिन्छ।
यद्यपि, यस्ता प्रवृत्तिविरुद्ध जेजति चर्चा र बहस हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन, कम भइरहेको छ। महिनावारीको विषय उठ्नासाथ महिलाको मात्रै सरोकारको विषय ठान्ने जमात आज पनि ठूलै छ। त्यो जमातले न त महिनावारीको सुन्दर पक्ष स्वीकार गर्ने चेष्टा गर्छ न त महिनावारीका समयमा भोग्नुपर्ने शारीरिक, मानसिक र भावनात्मक पीडामा सहानुभूति नै जनाउने हिम्मत गर्छ। त्यो जमातलाई महिलाको सिर्जना शक्तिको प्रतीक महिनावारीप्रति उदार हुँदै त्यसबेला हुने पीडामा स्वतः सहानुभूति र साथ/सहयोगको भाव राख्नेसम्मको अवस्थामा पुर्याउन सक्नु नै ठूलो चुनौती आजको पुस्तालाई छ। तर आजकै पुस्ता महिनावारीको बहसलाई पाप र धर्मसँग मात्रै जोडेर छोइछिटो कति दिन बार्ने, किन बार्ने भन्ने विषयको बहसमा सक्रिय देखिनुले महिलाका अन्य थुप्रै विषय छायामा परेका छन्।
महिनावारीलाई लिएर परिवार, समाज र संस्कारमा भएका अभ्यासबारे सामाजिक सञ्जालमा मत–मतान्तर हुनुले महिनावारीको बहसलाई केही हदसम्म उजागर गर्न मद्दत मिलेको छ। कम्तीमा महिलालाई एकातिर महिनावारीबारे बोल्न सघाएको छ भने अर्कोतिर थोरै भए पनि देखा पर्ने फरक मतले कतिपयलाई यसबारे सोच्न बाध्य बनाएको छ। जसले गर्दा आफूले ‘सिक्दै–मान्दै–गर्दै’ आइरहेको अभ्यास नै सर्वेसर्वा होइन रहेछ भनेर बुझ्न सहयोग गरेको छ।
यस्तो छलफललाई हाम्रो समाजको स्तर र चेतनाको सूचकका रूपमा पनि बुझ्न सकिन्छ। ज्ञान र चेतना निर्माणमा अहिले पनि धर्म, प्रथा, संस्कारजन्य कुरा र यो सँगै मिसिएर आउने तथाकथित पापको डरले कसरी काम गरिरहेको छ भनेर बुझ्न पनि सामाजिक सञ्जालका विचारले सहयोग पुर्याउँछ।
सुदूरका 'छाउपडी'मा छोइछिटो देख्नु तर आफ्नै घरको महिनावारी बार्ने चलनलाई बेवास्ता गर्नु विरोधासपूर्ण हो। यस्तै, सानो उमेरमै बालिका/किशोरी महिनावारी हुने क्रम बढिरहेको अवस्थामा त्यससँग जोडिएका हर्मोनल कारणदेखि वातावरणीय प्रभावबारे चर्चा गर्नु, उनीहरूलाई मानसिक रूपमा महिनावारीका लागि तयार बनाउन संवेदनशील छलफल गर्नु अर्को चुनौतीपूर्ण र अत्यावश्यक विषय हो।
यस्तै, महिनावारीका 'मुड स्विङ'देखि रजनोवृत्तिका समयमा भोग्नुपर्ने पीडाबारे महिनावारी हुने महिलासहित उनका परिवार र समाजमा बुझाउँदै जिम्मेवार बनाउनु पनि महिनावारीसँग जोडिएको अर्को महत्त्वपूर्ण मुद्दा हो। महिनावारीका यस्ता विविध विषयमा तब मात्र स्वस्थ छलफलको शुरूआत हुन्छ, जब हाम्रा बहसका श्रृंखला महिनावारीको छोइछिटो बार्ने कुप्रथा निमिट्यान्न पार्दै अगाडि बढ्छन्।
महिनावारीबारे आजसम्म पनि धर्म, संस्कार र संस्कृतिकै नियम चलिरहेको छ। यस्ता अभ्यासको शक्ति राजनीतिलाई बुझाउने प्रयत्न छिपछिपे रूपमा एकाध व्यक्ति, संस्था र अभियानले मात्रै गरिरहेको छन्। न स्कुलमा न त पाठ्यक्रममा नै यसबारे बुझाउने पर्याप्त यत्न गरिएको छ। न त यसबारे खुला बहस र छलफल नै पुग्दो छन्। जसले गर्दा व्यक्ति तथा समाज बदलिन सकिरहेका छैनन्। र त हातमा ‘लेटेस्ट’ स्मार्ट फोन बोक्ने पढेलेखेको र सम्पन्न पुस्ताको सोचमा परिवर्तन आउन सकिरहेको छैन। हुन पनि व्यक्तिको सम्पन्नता वा तिनले प्रयोग गर्ने ‘ग्याजेट’का आधारमा चेतना निर्माण हुने होइन। व्यक्तिको दृष्टिकोण नै बदलिन आवश्यक छ।
यस्ता दृष्टिकोण बदल्न हामीले मान्दै आएका धार्मिक संस्कार र परम्पराका केही दृष्टान्त पनि उपयोगी हुन सक्छन्। नेपाल र भारतका केही हिन्दू सम्प्रदायमा योनीपूजाकै परम्परा छ। नेपाल र भारतमा देवीपूजा आधारित दशैँ र दुर्गापूजाजस्ता महत्त्वपूर्ण पर्व छन्। यस्ता अभ्यासको कारण खोज्दै जाँदा एकातिर नारीशक्तिको आराधना भेटिन्छ भने अर्कोतिर महिनावारीको राजनीतिक कारणको अर्थ पनि खोतल्न सकिन्छ। त्यसो गर्दा नेपाली समाजको विरोधाभासपूर्ण चरित्र बुझ्न सकिन्छ।
सामाजिक सञ्जालमा हुने क्रियाप्रतिक्रियालाई सकारात्मक रूपले हेर्ने हो भने यसले महिनावारीसम्बन्धी बहस व्यापक बनाउन परोक्ष रूपमा भए पनि मद्दत गरेको छ। तर यस्तो बहस एकांकी मात्रै र प्रविधिको प्रयोग गरेर अन्धविश्वासलाई मलजल गर्ने काम भयो भने त्यो झनै घातक हुनेछ। त्यसैले, यस्ता बहसमा नै छिरेर फरक मत राख्ने, तर्क अघि सार्ने र प्रश्न सोध्ने गर्न सकियो भने महिनावारीबारे रूढिवादी बुझाइमा सकारात्मक हस्तक्षेप गर्न सकिन्छ। होइन भने प्रविधिको प्रयोगले चेतनशील विचार निर्माणमा टेवा पुर्याउनुको सट्टा आउने पुस्तालाई महिनावारीको छोइछिटोबारे झनै दोधार र अन्योलमा राखिरहन्छ।
(लेखकहरू यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विषयमा बहस गर्ने पडकास्ट ‘गुलाबी संवाद’का निर्माता तथा प्रस्तोता हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
करुणा देवकोटा
