कतार पठाइदिने भन्दै ठगी गरेको आरोपमा मलेसियनसहित ४ जना पक्राउ

उनीहरूले रोजगारीका लागि कतार पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकमसमेत असुल गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ।

गोलबजार– रोजगारीका लागि कतार पठाइदिने भन्दै ठगी गरेको आरोपमा नेपाल प्रहरीले एक मलेसियन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ।

लहान नगरपालिका-४ स्थित एक होटलमा सरकारसँग अनुमति नलिई कतार पठाइदिने भन्दै अन्तर्वार्ता लिइरहेका मलेसियन नागरिक अन्दाजी ५१ वर्षीय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहान-२३ का ४२ वर्षीय रामाशंकर यादव, २५ वर्षीय रामभरत यादव र ३९ वर्षीय सूर्यनारायण दाव सोमबार पक्राउ परेका हुन् ।

पक्राउ परेका चारै जनामाथि आवश्यक कारबाही शुरू भइसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

उनीहरूले केही व्यक्तिसँग रकमसमेत असुल गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ। ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।