काभ्रेमा बाढीपहिरोबाट ७८ जनाको निधन भएको थियो। ६ जना अझै बेपत्ता र ७९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
काभ्रेपलान्चोक– असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढीपहिरोले जिल्लामा जनधनको क्षति पुर्यायो। कृषि, पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युत्का क्षेत्रमा क्षति पुर्याउँदा स्थानीय कष्टकर जीवन बिताउन बाध्य छन्।
सरकारले विपद्को एक महिना बितिसक्दा पनि क्षतिबारे पूर्ण विवरण संकलन हुन सकेको छैन। जिल्लाका १३ स्थानीय तहमध्ये रोशी र बेथानचोक गाउँपालिका तथा पनौती नगरपालिका अति प्रभावित क्षेत्रमा पर्छन्। बनेपा र धुलिखेल नगर संकटग्रस्त क्षेत्रमा घोषणा नगरे पनि प्रारम्भिक मूल्यांकनका आधारमा जनधनको क्षतिसहित १ अर्बभन्दा बढीको क्षति हुने तहमा परेका छन्।
प्रारम्भिक विवरण आइरहेको र पूर्ण विवरण केही हप्तामै आउने प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए। उनका अनुसार पीडितलाई थप आर्थिक सहयोग तथा राहतका लागि गत हप्तादेखि नै क्षतिको यकिन विवरण संकलन शुरू गरिएको छ। धुलिखेलका नगरप्रमुख अशोक ब्याञ्जूसहित जनप्रतिनिधिको टोलीले उपप्रधान एवं सहरी विकासमन्त्री तथा गृहमन्त्रीसमेतलाई भेटेर संकटग्रस्त क्षेत्रमा समावेश गर्न ध्यानाकर्षण गराएका छन्। धुलिखेल खानेपानीको क्षतिमा सहयोग पुर्याउन जर्मन सरकारसँग राजदूतमार्फत सहयोगका लागि अनुरोध गरिएको छ। हालैको विपद्ले नगरभित्र पुर्याएको सम्पूर्ण क्षतिको पूर्ण विवरण केही दिनमै सार्वजनिक गरिने नगरप्रमुख ब्याञ्जूले बताए।
काभ्रेमा बाढीपहिरोबाट ७८ जनाको निधन भएको थियो। ६ जना अझै बेपत्ता छन्। ७९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। कार्यालयका अनुसार ८६७ जनालाई हेलिकप्टरबाट तथा तीन हजार २९९ जनाको अन्य माध्यमबाट उद्धार गरिएको थियो। प्रारम्भिक विवरणअनुसार जिल्लामा निजी आवासतर्फ करिब चार हजार पूर्ण क्षति भएको छ। सात हजार घरमा आंशिक क्षति पुगेको अनुमान गरिएको छ। तीन दर्जन सरकारी भवन तथा सोही संख्यामा सार्वजनिक भवन पूर्ण रूपमा क्षति भएका छन्।
यस्तै बीपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको विभिन्न सडकखण्डमा आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएपछि अस्थायी डाइभर्सन गरी एकतर्फी यातायात सञ्चालन गरिएको छ। १९ प्रमुख ग्रामीण सडकको अधिकांश खण्डमा पहिरो गई करिब ६५५ किमी सडक अवरुद्ध भएको जनाइएको छ। हाल खानीखोला गाउँपालिकाबाहेक सबै सडक सञ्चालनमा आएको छ।
यसैगरी ४८ पुलमा क्षति पुगेमध्ये सात पूर्ण रूपमा र तीन आंशिक क्षति भएको छ। ३८ वटाको सामान्य मर्मत गरिएको छ। सिँचाइका ९६ वटा आयोजनामा २१ करोड ५० लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको छ। ३६ तटबन्धको योजनामा २० करोडको क्षति भएको छ।
यस्तै खानेपानी तथा सरसफाइका आयोजनामा सबैभन्दा बढी क्षति भएको पाइएको छ। प्रारम्भिक क्षतिको विवरणअनुसार तीन नगर समेटिएका काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको दुई किलोमिटर पाइप बगाएको छ। यस अपयोजनामा १० करोड बराबरको क्षति भएको अनुमान गरिएको छ। धुलिखेल खानेपानी उपभोक्ता समितिको तीन किमी पाइप बगेको तथा अन्य संरचनामा क्षतिसमेत गरी ४ करोड बराबरको क्षति भएको छ।
तेमाल बृहत् खानेपानी आयोजनामा ८ करोडको क्षति तथा जिल्लामा सञ्चालित करिब १०० खानेपानी आयोजना गरी करिब १ अर्बको क्षति पुगेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका आयोजना प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।
चार स्वास्थ्य संस्था, नेपाल टेलिकमका करिब दुई दर्जन टावर तथा अप्टिकल फाइबर, टेलिफोन पोल, तारमा क्षति भएको छ। ७७४ विद्युत् लाइनका ११ मिटर अग्ला पोल र नौ मिटर अग्ला एमटी लाइन भएको एक हजार १४९ पोल पूर्ण रूपमा क्षति भएका छन्। ४४ मध्ये २२ ट्रान्सफर्मरमा पूर्ण क्षति पुगेको जनाइएको छ।
जिल्ला कृषि कार्यालयका अनुसार सात हजार १३० परिवार प्रभावित भएका छन्। दुई हजार नौ मेट्रिक टन धान, ८४ मेट्रिक टन मकै, चार हजार दुई ७८ मेट्रिक टन तरकारी तथा अन्य बाली गरी ६ हजार ३७१ मेट्रिक टन उत्पादनमा क्षति पुगेको छ। कुल उत्पादनमा ४२ करोड ६३ लाख क्षति पुगेको जनाइएको छ। १२ करोड ८४ लाख ५१ हजार बराबरको पशुपक्षी क्षति भएको अनुमान गरिएको छ। १७० वटा विद्यालयमा क्षति भएको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
