कागबेनीमा पितृतर्पण गर्नेको श्रद्धालुको घुइँचो

मुक्तिनाथ र दामोदरकुण्डबाट बगेर आउने कालीखोला र मुक्ति गण्डकीको संगम रहेको कागबेनी पितृतर्पणका लागि महत्वपूर्ण तीर्थस्थल मानिन्छ।

म्याग्दी– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो लागेको छ। यस वर्षको सोह्रश्राद्धमा देशभर बाढी पहिरोले सडक अवरुद्ध भएपछि कागबेनीमा श्राद्ध गरेर पितृतर्पण गर्न आउन नपाएकाहरू दशैँलगत्तै आउन थालेका हुन्। 

गबेनीस्थित कालीगण्डकी नदी किनारको श्राद्धस्थलमा पितृतर्पण गर्नका लागि श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गरेको छ।  पितृका नाममा श्राद्ध तथा पिण्डदान गर्ने र तर्पण दिनका लागि देशका विभिन्न जिल्लाका साथै भारतबाट धार्मिक तीर्थालु कागबेनी आउने गरेका पुजारी हिमाल सुवेदीले बताए। उनका अनुसार, दैनिक २०० भन्दा बढीले दिवंगत आफन्तको सम्झनामा कागबेनीमा श्राद्ध गर्ने र तर्पण दिने गरेका छन्।

मुक्तिनाथ र दामोदरकुण्डबाट बगेर आउने कालीखोला र मुक्ति गण्डकीको संगम रहेको कागबेनी पितृतर्पणका लागि महत्वपूर्ण तीर्थस्थलका रूपमा मानिन्छ। कागबेनीमा बडादशैँ र चैते दशैँको औँशीमा हजारौँको संख्यामा पितृतर्पण गर्नेहरूको घुइँचो लाग्ने गरेको पुजारी सुवेदीले जानकारी दिए। यस वर्ष बाढीपहिरोका कारण सोह्रश्राद्धको समयमा उल्लेख्यमात्रामा तीर्थयात्री आउन सकेका थिएनन्। 

“बाढी, पहिरोले सडकमार्ग अस्तव्यस्त बनाएपछि सोह्र श्राद्धमा ठूलो संख्यामा भक्तजन आउन सकेका थिएनन्। दशैँपछि मौसममा सुधार भएपछि कागबेनीमा तर्पण दिन दिनहुँ भीड लाग्ने गरेको छ,” पुजारी सुवेदीले भने। दामोदर कुण्डबाट बगेर आएको काली र मुक्तिनाथका १०८ धाराबाट बगेर आएको गण्डकीको संगम भएकाले यहाँ पुगेर पिण्डदान गर्दा सबैभन्दा ठूलो फल मिल्ने कुरा शास्त्रमा उल्लेख छ।

परापूर्वकालमा काग भुसुण्डे ऋषिले हिमाली तालतलैयामा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृका नाममा तर्पण र पिण्ड दिएको हुनाले कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध, तर्पण, पिण्ड आदि दिने चलनको शुरूआत भएको धार्मिक मान्यता छ।

कागबेनीमा भगवान्‌को दैवीशक्ति प्रकट भएकाले यस स्थानमा आएर पितृको नाममा श्राद्ध ,पिण्ड र तर्पण दिनाले पितृ उद्धार हुने किवंदन्ती रहेको रघुगंगा गाउँपालिका–३ मौवाफाँटबाट पितृ तर्पण गर्न पुगेका शालिकराम रिजालले बताए। 

विश्वमा शालिग्राम शिला पाइने एकमात्रै नदी कालीगण्डकीबाट संकलन भएका शालिग्राम शिलालाई भक्तजनले लैजाने गरेका छन्। भक्तजनको आगमन बढेसँगै शालीग्राम शिलासँगै पूजा सामग्रीको बिक्री बढेको स्थानीय देवबहादुर थापाले  बताए।

भक्तजनको संख्या बढेसँगै कागबेनी क्षेत्रका होटल भरिभराउ भएका छन्। व्यापार व्यवसायसमेत चलायमान भएको छ। दशैँतिहारको बिदाको समयमा मुस्ताङमा दैनिक करिब पाँच हजार पर्यटक भित्रिने गरेका छन्। बेनी–जोमसोम सडक मार्ग र अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मुस्ताङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकमध्ये अधिकांश कागबेनी र मुक्तिनाथमा पुग्ने गरेका छन्।