इजरायलले पारित गर्‍यो यूएनआरडब्लूएलाई प्रतिबन्धित गर्ने कानून

इजरायली संसद्ले प्यालेस्टिनीलाई सहयोग गर्ने राष्ट्रसंघीय राहत र कार्य एजेन्सीलाई इजरायलभित्र काम गर्न निषेध गर्ने कानून पारित गरेको छ।

इजरायली संसद्ले प्यालेस्टिनीलाई सहयोग गर्ने राष्ट्रसंघीय राहत र कार्य एजेन्सी (यूएनआरडब्लूए) लाई इजरायलभित्र काम गर्न निषेध गर्ने कानून पारित गरेको सीएनएनले जनाएको छ।

संसद्मा सोमबार यो विधेयकमा मतदान गरिएको थियो। विधेयकको पक्षमा ९२ र विपक्षमा १० मत परेको थियो। 

सीएनएनका अनुसार यो कानूनले औपचारिक रूपमा यूएनआरडब्लूएलाई गाजा र प्यालेस्टाइन नियन्त्रित पश्चिम किनारका केही भागमा काम नरोके पनि उक्त क्षेत्रमा एजेन्सीको कार्य क्षमतालाई सीमित गर्दछ। 

गत वर्ष अक्टोबरमा हमासले गरेको आक्रमणपछि सहयोगका क्रममा यूएनआरडब्लूएले इजरायलबाट निरन्तर आलोचनाको सामना गरिरहेको छ।

सोमबार क्यानडा, अस्ट्रेलिया, फ्रान्स, जर्मनी, जापान, दक्षिण कोरिया र बेलायतका विदेशमन्त्रीहरूले गाजामा बढ्दै गएको मानवीय संकटबारे चिन्ता व्यक्त गरेका थिए। उनीहरूले इजरायललाई प्रस्तावित कानून रोक्न आग्रह गर्दै संयुक्त विज्ञप्तिसमेत जारी गरेका थिए।

“यूएनआरडब्लूएले गाजा, पूर्वी जेरुसेलम, पश्चिम किनार र क्षेत्रमा प्यालेस्टिनी शरणार्थीलाई आवश्यक जीवनरक्षक मानवीय सहायता र आधारभूत सेवाहरू प्रदान गर्दछ,”  विज्ञप्तिमा उल्लेख छ।

पहिले नै गम्भीर र द्रुत रूपमा बिग्रिँदै गएको मानवीय अवस्था विशेष गरी उत्तरी गाजामा विनाशकारी अवस्थालाई रोक्न असम्भव नभएको खण्डमा पश्चिम किनारलाई गम्भीर रूपमा अवरोध गर्ने विज्ञप्तिमा बताइएको छ। 

विधेयक पारित हुनुअघि नै राष्ट्रसंघले खाद्यान्न, आश्रय र स्वास्थ्य सेवामा पूर्ण रोक लगाइएको गाजामा करिब ६ लाख बालबालिका जोखिममा पर्ने आकलन गरेको थियो।

प्रतिबन्धले इजरायलले कब्जा गरेको क्षेत्रमा यूएनआरडब्लूएको काममा बाधा पुर्‍याउने अनुमान गरिएको छ।