नेप्से परिसूचक ४६.६९ अंकले बढ्यो, ६ अर्बको कारोबार

मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४६.६९ अंकले बढेको छ। मंगलबार नेप्से परिसूचक १.७६ प्रतिशतले बढेर २६९२.०५ को विन्दुमा कायम भएको हो।

मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। यस दिन ३१९ कम्पनीको एक करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर ६८ हजार ६१४ पटक खरिद बिक्री हुँदा ६ अर्ब १२ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। सोमबार पाँच अर्ब ३४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

त्यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.३३ अंकले वृद्धि भई ४८१.२८ को विन्दुमा कायम भएको छ। कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा मंगलबार वृद्धि भएको छ।

मंगलबार तीन वटा कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ। सप्तकोशी विकास बैंक, सानिमा जीआईसी इन्स्योरेन्स, कुथेली बुखारी स्मल हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। त्यस्तै, कर्पोरेट विकास बैंक ९.९८ र समाज लघुवित्तका लगानीकर्ताले ९.१८ प्रतिशतले कमाएका छन्।

यस दिनको कारोबारमा सेन्ट्रल फाइनान्सको शेयर मूल्य १.८८ प्रतिशत, लाइफ इन्सोरेन्स कर्पाेरेसनको १.५७, गुडविल फाइनान्सको १.२३, हिमालयन लघुवित्तको १.१२ र आईसीएफसी फाइनान्सको १.०८ प्रतिशतले घटेको छ।