नेपालमा डेंगीका ३ प्रकारका भाइरस सक्रिय

नेपालमा डेंगीका सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

काठमाडौँ– नेपालमा डेंगी तीन सेरोटाइप (स्वरूप) सक्रिय रहेको पाइएको छ। नेपालमा डेंगीका सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिए। 

विगत सात वर्षअघि भने सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सेरोटाइप–४ सक्रिय रहेका थिए। “भाइरसको जिन अध्ययन गर्दा अहिले तीन प्रकारका भाइरसका स्वरूप सक्रिय रहेको पाइएको छ,” उनले भने। 

शाखाका प्रमुख डा. दाहालका अनुसार कात्तिकसम्म लामखुट्टे सक्रिय हुने भएकाले जोखिम हुने बताए। उनले कात्तिकपछि जाडो अलि बढ्ने र त्यसपछि डेंगी सार्ने लामखुट्टे पनि हराउँदै जाने बताए। 

डेंगी संक्रमण हुम्लाबाहेक सबै जिल्लामा देखिएको छ। यस्तै, देशभर २७ हजार १५३ जनामा डेंगी संक्रमण देखिएको छ भने अहिलेसम्म ११ जनाको निधन भइसकेको छ। 

सबैभन्दा बढी कास्कीमा सात हजार ८० जनामा डेंगी संक्रमण देखिएको छ। पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस्’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेंगी रोग लाग्दछ। 

उपत्यकामा पाँच हजार ७४८ जनामा डेंगी संक्रमण देखिएको छ। काठमाडौँमा चार हजार ६० जना,  भक्तपुर ६२८ र ललितपुर एक हजार ६० जनामा डेंगी संक्रमण देखिएको छ। 

वर्षाको बेला पानीका संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगीको संक्रमण बढेको हो। 

डेंगी रोगको संक्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न निर्णय सरकारले गरेको छ।