नेपाल र बांग्लादेशबीचको खेलको टिकट एन्फा आफैँले बेच्ने

एन्फाको अनुसार टिकट जावलाखेल खेल मैदान र भद्रकालीस्थित आर्मी हेडक्वाटरको गेटबाहिर गरी दुई ठाउँमा बिक्री गरिनेछ। टिकट बिहान ८ देखि वितरण हुनेछ। 

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलको टिकट बिक्री आफैँले गर्ने भएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मैदानमा बुधबार साँझ हुने नेपाल र बांग्लादेशबीचको फाइनल खेलको टिकट एन्फा आफैँले बिक्री गर्ने भएको एन्फाका प्रवक्ता सुरेश शाहले बताए। खेल साँझ ६ः३० बजेदेखि शुरू हुनेछ। 

एन्फाको अनुसार टिकट जावलाखेल खेल मैदान र भद्रकालीस्थित आर्मी हेडक्वाटरको गेटबाहिर गरी दुई ठाउँमा बिक्री गरिनेछ। टिकट बिहान ८ देखि वितरण हुनेछ। 

एन्फाले साधारणतर्फ ११ हजार र भीआईपीतर्फ एक हजार मात्र टिकट बिक्री गरिने बताइएको छ। साधारण प्यारापेटतर्फ पाँच सय र भीआईपी प्यारापेटतर्फ एक हजार रुपैयाँ टिकट दर तोकिएको छ। 

त्यसैगरी एन्फाले माउण्ट एभरेस्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिसँगको सम्झौता पनि रद्द भएको जानकारी दिएको छ। फाइन खेलमा एन्फाले दशरथ रंगशालाभित्र कुनै पनि प्रकारका धारिला हातहतियार, चुरोट, लाइटर, सलाइ, मदिरा र अन्य नशालु पदार्थ, ठूला ब्याग तथा हेल्मेट लान निषेध गरेको छ। 

त्यसैगरी अनुमतिबिना ब्यानर, झन्डा, पोस्टर, पानीको बोतल, क्यान, पत्थर र अन्य फ्याँक्न मिल्ने धातुका मुद्रा क्याइन, कुनै पनि प्रकारका लागुऔषध, छाता, लिबिस्टिक, नेल कटर, कैँची, काइयोलगायतका सामग्री रंगशालाभित्र लान निषेध गरिएको छ।