गाउँघरमा अर्मपर्म गर्ने चलन पनि हट्दै गएको छ। खनजोतका लागि मिनिटिलर प्रयोगमा आउन थालेको छ। गोरुले दुई दिन लगाउने काम यसबाट दुई घण्टामै सकिने किसान बताउँछन्।
ढोरपाटन– दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा खेतबारी जोत्न हल गोरु नै प्रयोग गरिन्थ्यो। खेतबारी जोत्ने हली पनि प्रशस्त हुन्थे। हिजोआज खेतबारी बाँझोमा परिणत हुँदै गएका छन्। सीमित खेतबारीमा मात्रै किसानले खेती गर्ने गर्छन्।
पहिले हल गोरुको काम अहिले मिनिटिलर (आधुनिक हलो)बाटै हुन थालेको छ। बजार क्षेत्रमा एक दशक अगाडिदेखि नै आधुनिकको प्रयोग गरेर खेतबारी खनजोत गरिए पनि गाउँमा त्यो सुविधा थिएन।
अहिले यो सुविधा गाउँ र टोलसम्मै पुगेपछि हल गोरु पाल्न छोडिएको हो। ग्रामीण क्षेत्रका किसानले अँगाल्दै आएको परम्परागत खेती प्रणाली फेरिँदै गएपछि गाउँमा अचेल हल गोरु पाउन मुस्किल हुन्छ।
जिल्लाको ढोरपाटन, गलकोट, जैमिनी नगरपालिका, निसीखोला, तमानखोला, ताराखोला गाउँपालिकाका एउटै परिवारले १० हलसम्म गोरु पाल्ने गरेको पाइन्थ्यो तर अहिले त्यो अवस्था छैन।
अहिले बारी खनजोत र बाली लगाउने तथा भित्र्याउने कामका लागि अर्मपर्म गर्ने चलन पनि हटेको छ। खनजोतका लागि मिनिटिलर बढी प्रयोगमा आएपछि गोरुले दुई दिनमा सक्ने काम मिनिटिलरले दुई घण्टामै सकिदिन्छ। त्यसले गर्दा किसानको आधुनिक हलोप्रति आकर्षण बढेको गलकोट नगरपालिका–५ का कृष्णबहादुर खत्रीले बताए। मिनिटिलर हलोले छिटोछिटो जोत्दा समयको बचत हुने र खर्च पनि कम हुने उनको भनाइ छ।
“गोरु पाल्न सक्ने अवस्था छैन। बजारमा गएर हलो किनेर ल्यायो। गोरुले दिन भरि लगाउने काम एकै छिनमा सकिन्छ,” उनले भने। निसीखोला गाउँपालिका–४ का मनप्रसाद पौडेलले गोरुले खेतबारी जोत्दा समय लाग्ने भए पनि उत्पादन राम्रो हुने तर मिनिटिलरले गर्दा उत्पादनमा ह्रास आउने बताए। मिनिटिलरले बारी गहिरो गरी नजोत्ने हुँदा पहाडी क्षेत्रमा हलगोरु नै ठिक हुने उनको अनुभव छ।
“गोरुले जोत्दा खेतीपाती सप्रिन्थ्यो। उत्पादन राम्रो हुन्थ्यो। तर अहिले धान, गहुँ, मकै कम उब्जनी हुन्छ,” उनले भने, “शुरूशुरूमा मिनिटिलर प्रयोग गरियो। तर उत्पादन घटेपछि अहिले त ओल्लोपल्लो गाउँमा गएर भए पनि गोरु खोजेरै जोत्ने गरेको छु।”
गोरु पाल्ने चलन हराउँदै गएपछि बागलुङ नगरपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न थालेको छ। अघिल्लो वर्षदेखि नै किसानले पाँच हजारका दिन थालेको हो। गत वर्ष नगरपालिकाले ८१ किसानलाई प्रोत्साहन रकम प्रदान गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए।
हाते ट्याक्टर तथा प्रविधिको बढ्दो प्रयोगका कारण पुस्तौँदेखि चल्दै आएको गोरुले जोत्ने परम्परा पनि हराउँदै गएकाले त्यसको संरक्षणका लागि हल गोरु पाल्ने किसानलाई प्रोत्साहन गरिएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
