आर्मीका खड्काले जिते नेपालगन्ज म्याराथन

आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथन त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्का र महिला हाफ म्याराथन बागमतीका सन्तोषी श्रेष्ठले जितेका छन्।

तस्वीर : रासस

राँझा– आठौँ संस्करणको धारा नेपालगन्ज म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले जितेका छन्। नेपालगञ्जमा शनिबार भएको म्याराथनमा खड्काले निर्धारित दूरी दुई घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गरे। 

आर्मीकै नरेन्द्रसिंह रावत र मोहनदेव जोशी क्रमशः तेस्रो र चौथो भए। रावतले दुई घण्टा २२ मिनेट २९ सेकेन्ड तथा जोशीले दुई घण्टा २४ मिनेट ३६ सकेन्डमा दाैड पूरा गरे। खड्काले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। त्यस्तै रावतले ६० हजार र जोशीले ३० हजार रुपैयाँ पाए। यस्तै महिला हाफ म्याराथन भने बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जितिन्।

सातौँ संस्करणमा समेत च्याम्पियन बनकी उनले निर्धारित दूरी एक घण्टा १६ मिनेट ४१ सकेन्डमा पूरा गरिन्। ६० हजार पुरस्कार रुपैयाँ नगद प्राप्त गरिन्। दोस्रो भएकी अञ्जली चौहानले निर्धारित दूरी एक घण्टा २५ मिनेट १५ सकेन्डमा पूरा गरिन्।

अञ्जु खड्का एक घण्टा ३६ मिनेट ४४ सेकेन्डमा पूरा गर्दै तेस्रो बनिन्। उनीहरूले ३० हजार र १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए। हरेक वर्ष मङ्सिर पाँच गते हुँदै आएको म्याराथन यसवर्ष निर्वाचनका कारण हुन सकेको थिएन।