तिहारअघिको अन्तिम कारोबार दिन १४ अंकले घट्यो नेप्से

तिहारअघिको अन्तिम कारोबार दिन शेयरबजार परिसूचक नेप्से  १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा झरेको छ।

काठमाडाैँ– तिहारअघिको अन्तिम कारोबार दिन शेयरबजार परिसूचक नेप्से  १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा झरेको छ।

कारोबार रकम पनि मंगलबारकै हाराहारीमा भएको छ। आज १ करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९५ करोड ३९ लाख ५० हजार ७८७ रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबार १३ उपसमूहमध्ये तीन उपसमूहको सूचक बढेको छ भने बाँकी १० उपसमूहको सूचक घटेको छ। होटल उपसमूहको सूचक सबैभन्दा धेरै २.५२ प्रतिशतले बढेको छ भने लगानी उपसमूहको सूचक सबैभन्दा धेरै १.४१ प्रतिशतले घटेको छ।

सीईडीबी हाइड्रोपावरको सबैभन्दा धेरै ३४ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। सानिमा जिआइसी इन्स्योरेन्सको २६ करोड र सोल्टी होटलको २० करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

गुँरास लघुवित्त र मिड सोलु हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत, अपर स्यांगे हाइड्रोपावर ९.९९ प्रतिशत र कुथलि बुखरी हाइड्रोपावरको ९.९८ प्रतिशतले बढेको छ।

यस्तै, जानकी फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ४.९० प्रतिशतले घटेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य ४.८० तथा माथिल्लो मैलुङको ४.५५ प्रतिशतले घटेको छ।

तिहारको बिदासँगै नेप्से पनि भोलिदेखि अर्को सोमबारसम्म बन्द रहनेछ।