यस्तो छ तिहारको माैसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागले बुधबार तिहार लक्षित विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै भारी वर्षा एवं झरी नपर्ने जनाएको छ।

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले बुधबार तिहार लक्षित विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै भारी वर्षा एवं झरी नपर्ने जनाएको छ।

सार्वजनिक बुलेटिनअनुसार यस वर्ष तिहारको चतुर्दशी (१५ गते), औँसी (१६ गते), प्रतिपदा (१७ गते) र द्वितीया (१८ गते भाइटीका)का दिनहरूमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहने उल्लेख छ।

बुलेटिनमा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने देखिएको विभागले जानकारी गराएको छ। बुलेटिनमा देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ। उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम घट्दो क्रममा रहने सम्भावना विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बदली हुने बादलहरू लाग्ने देखिए पनि ठूलो झरीको सम्भावना भने नदेखिएको जानकारी दिए। उनले भने, “ती प्रदेशका केही ठाउँमा हल्का बदली हुने, बादल लाग्ने, हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिन्छ, पहाडी भूभागका एकरदुई स्थानमा मध्यमसम्म पनि वर्षा हुनसक्छ कि भन्ने जस्तो छ तर सोचेभन्दा कम पानी पर्ने देखिन्छ।”

मौसमविद् अर्यालका अनुसार ठूलो झरी नै पर्ने खालको अवस्था छैन। पानी कम पर्ने अवस्था रहेको अहिलेसम्मको मोडलले देखाएको छ। उनले तीनदिने मौसम बुलेटिन दैनिक सार्वजनिक हुने भएकाले कुनै नयाँ अवस्था सिर्जना भएमा नियमित रूपमा सार्वजनिक हुने पनि जानकारी दिए।