पश्चिम पहाडका मगर समुदायको लोक संस्कृतिसँग जोडिएको मारुनी नाच तिहारमा मात्र सीमित छैन, जन्मदेखि मृत्युसम्मका संस्कारमै अनिवार्य मानिन्छ।
पोखरा– मारुनी नाच अर्थात् नेपालका पश्चिम पहाडमा चर्चित परम्परागत आकर्षक नृत्य। मगर समुदायमा प्रचलित मारुनी नाचमा अघिल्लो लहरमा शिरमा शिरफूल, गलामा तिलहरी र पोते पहिरिएर महिलाको भेषमा पुरुषहरू नाच्ने गर्छन्। महिलाको भेषमा नाच्ने पुरुषको पछिपछि कम्मरमा मादल भिरेर भाङ्ग्रा र कछाडमा सजिएका पुरुषहरू मादल घन्काउँदै नाच्छन्।
उनीहरूको पछिल्तिर गीत गाउने र मादल बजाउने अर्को समूह हुन्छ। गीत गाउनेले गीतको टुक्का सुनाएपछि पछिको समूहले लामो भाका हालेर गीत गाउँछन्। महिलाको भेष गरेर नाच्ने पुरुष नै खासमा मारुनी हुन्। मारुनीको पछाडि कम्मरमा मादल भिरेर घन्काउँदै सँगसँगै नाच्ने पुरुष पुर्सुङ्गे। पछाडि मादल बजाउने मादले र गीत गाउने समूहलाई ‘ग्वादे’ भनिन्छ। यसरी चार पाँच समूह भएर मारुनी नाचिन्छ।
गुल्मी, लिम्घाको सत्यवती सोरठी समूहका गुरु, सुवेदार चोकबहादुर थापा पहिलेदेखि चलिआएको चलनअनुसार केटा मान्छे केटीको भेष गरेर मारुनी नाच्ने गरेको बताउँछन्। “हाम्रा बाजे, जिजुबाजेको पालादेखि नै केटा मान्छेले केटीको भेष गर्ने, सिँगारिएर नाच्ने चलन छ,” उनले भने।

मगर समुदायमा प्रचलित मारुनी नृत्यमा जन्मदेखि मृत्यु संस्कारसम्म जोडिएको हुन्छ। गुल्मीका विभिन्न ठाउँमा तिहारको छेकोमा देउसी, भैलोसँगै मारुनी नाचिन्छ। सत्यवती गाउँपालिकास्थित लिम्घाका शिव थापा मगर गुल्मीमा तिहारमा मारुनी नाच्ने चलन पहिलेदेखि चलेको बताउँछन्। कालरात्रीको दिनमा देवी पुजेर नाच्न शुरू गरेर तिहारपछि विधिवत् यसको अन्त्य गरिने उनले सुनाए। “तिहारपछि सेलाउने भन्छन्। यो अहिलेबाट होइन, पहिलेबाट हो। पहिलेदेखि नै तिहारको बेलामा नाच्ने गरिएको छ,” उनले भने।
ठाउँ अनुसार भने मारुनीलाई फरक–फरक नामले पुकारिन्छ। गुल्मीतिर ठूलो नाच भने पनि म्याग्दीका मगरहरू पुर्ख्यौली नाच भन्छन्। यही नाचलाई सोरठी पनि भनिन्छ। जे भने पनि यसको भेद भने एउटै हो। थापा मगर सुनाउँछन्, “कसैले मारुनी, कसैले ठूलो नाच भन्छन्। हामीले गुल्मीतिर ठूलो नाच भन्छौँ। शहर बजारतिर मारुनी नाच पनि भन्छन्।”
ठूलो नाचमा कृष्ण चरित्र हुन्छ। त्यसमा कृष्णको महिमा गाएर नाच्ने गरिन्छ। ठूलो नाचमा भूमिपुत्र, कुल देवीदेवतालाई सम्झेर नाचिने उनको भनाइ छ। मारुनीलाई नचाउने पुर्सुङ्गे हो। नाच्नेहरूले निकालेको गीतको भाका वरिपरि जम्मा भएकाहरूले गाएर ठूलो नाच नाचिने उनले सुनाए।
दशैँको कालरात्रीमा शुरू भएपछि तिहारको पूर्णिमासम्म ठूलो नाच नाच्ने गरिएको उनले जानकारी दिए। अहिले भने यसलाई व्यावसायिक रूपमा पनि अगाडि बढाउने प्रयास भएको देखिन्। कुनै विशेष समारोहमा निमन्त्रण आएमा समूह नै गएर नाच्ने चलन पनि बढ्दै आएको उनले बताए।

कलाकार टीका थापा मगर नाच्ने तरिका भने धेरै ठाउँमा उस्तै हुने बताउँछन्। कुनै बेला यसमा राजारानीको बखान ज्यादा हुन्थ्यो। अहिले भने विभिन्न गाथा गीतमा आउने उनले सुनाए।
सत्यवती सोरठी समूहका गुरु चोकबहादुर थापाका अनुसार अहिले कृष्णचरित्र, जीवजनावर, बाबुआमा, दाजुभाइ, दिदीबहिनी, देवीदेवता नै ठूलो नाचमा गाइने गीतको मूल विषयवस्तु हुने गर्छन्। सोरठी नाम रहनुको भने रोचक मान्यता छ। कुनै समय राजाका सोह्र रानी रहेको, त्यहीँबाटै सोरठी भन्न थालिएको लोकविश्वास छ। नाम जे दिइए पनि गीतमा जीवजन्तुको दुःखको कहानी हुन्छ। बाबुआमा, छोरा, दिदीभाइ, दिदीबहिनीको कथा बोलिएको हुन्छ।
महिला पनि नाच्न थाले
मारुनीमा प्रायः पुरुष मात्र नाच्थे। महिलाको भेषमा पनि पुरुष नै नाच्थे। तर अहिले समय बदलिएको छ। महिला पनि मारुनी नाच्न थालेका छन्। “अहिले त केही फरक भएन। हामीले नाच्दा पनि हाम्रा बाजे, जिजुबाजेको पालामा छोरी मान्छेलाई नचाइन्नथ्यो। गीत पनि गाउँदैनथे,” चोकबहादुर थापाले भने, “अहिले त केटा र केटी सबैले नाच्छन्।”
नाच शुरू गर्नुअघि कालरात्रीमा देवीको मन्दिरमा गएर देवी बाँध्नुपर्ने प्रचलन छ। देवी बाँध्ने भनेको देवी देवताको नाम लिएर नाच्ने हो। यसो गरेमा नाच्ने क्रममा कुनै बाधा आउँदैन भन्ने विश्वास रहिआएको छ।

मारुनी नाच तिहारपछिको पूर्णिमासम्म नाचेर अन्त्य गरिन्छ। पुस महिनामा भने देवी पुजेर देवी बाँधेको फुकाउने चलन छ। त्यसपछि अर्को वर्षसम्मलाई नाच अन्त्य गरिन्छ।
देवी फुकाएर नाच अन्त्य गरेपछि नाचेमा नाच्नुपूर्व चार दिशा बाँधेर मात्र नाचिन्छ। “दशैँको कालरात्रीमा चार दिशा बाँध्न परेन। पुसमा फुकाएपछि कतै नाच्न परे चार दिशा बाँधेर मात्र नाच्नुपर्छ। बुबाबाजेले त्यसै गर्नुहुन्थ्यो,” उनले भने।
चार दिशा बाँधिसकेपछि नाच अन्त्य गर्न अन्तिममा ‘ठोकन’ राखेर विर्सजन गरिन्छ। मादलेले मादल बजाउनुलाई ठोकन राख्ने भनिन्छ। अन्य अवसरमा नाच्नुपूर्व र नाच सकिएपछि ‘ठोकन’ राख्नुपर्ने हुन्छ।
सांस्कृतिक अध्येता तथा फिल्म निर्देशक मेजन पुन पुर्ख्यौली र सोरठीलाई एउटै रूपमा व्याखा गर्छन्। घर पैँचो गर्दा, बच्चाको भात खुवाई जस्ता शुभ कार्यमा पनि नाच्ने गरिएको सुनाउँछन्। नाच्दा छेउनी भेउनी (नराम्रो चिज) ले नछोओस् भनेर शरीर बाँध्ने चलन पनि छ। अक्षता र कोइलाबाट बनाइएको कालो टिका र बेसार पनि राखेर बाँध्ने गरिन्छ। मन्त्र फुकेर सबैको शरीरमा पर्ने गरी छ्याप्ने चलन म्याग्दीमा छ।
“कहिलेकाहीँ मन्त्र जान्ने ग्रुपको मादल समेत फुटाउने काम पनि हुन्छ। मादल राम्रो बजायो भने त्यस्तो गरिन्छ,” उनले भने, “मन्त्रबाट मादल नै फुटाइन्छ। त्यसकारण पनि गाउन नाच्न शुरू हुनुअघि शरीर बाँध्ने चलन हुन्छ।” पुर्ख्यौली लोप हुने अवस्थामा पुगे पनि पछिल्लो समय म्याग्दीमा उर्बर हुँदै आएको उनले सुनाए।

पुर्ख्यौली नाचमा मुख्यतः जैसिंह राजा र हाइमती रानीको गीत गाउने गरिन्छ। उनीहरू पौराणिक राज्यका राजा र रानी भएको विश्वास गरिन्छ। त्यो राज्य कहाँ पर्थ्यो भन्ने त खुल्दैन, तर यो गीतमा करबाकेलीको मिथक पनि मिसाउने गरिएको छ। म्याग्दी, पर्वत बागलुङ, गुल्मी, पाल्पातिर प्रचलित रहे पनि सबैतिर यसको फरक–फरक शैली पाइने उनले सुनाए।
हङकङ र बेलायतमा बसोबास गर्ने (लाहुरे) मगरहरूले पुर्ख्यौलीलाई समुद्रपारसम्म पुर्याएकाले पनि यसको विस्तारलाई सुखद ठान्छन् अध्येता पुन। “परम्परा अनुसार चल्दा त पुर्ख्यौली चाहियो नै,” उनले भने।
अध्येता डा. मीन श्रीस मगर पछिल्लो चरणमा संस्कृति मासिने क्रम बढेको बताउँछन्। बसाइसराइले गर्दा सोरठी मारुनी हराउँदै गएको उनको बुझाई छ। तिहारमा सोरठी, मारुनी नाच्ने ठाउँमा पनि भैलो भट्याउने तर अन्य गीत बजाएर नाच्ने परम्परा हाबी भएको उनको भनाइ छ। “हामी तराईतिर बसाइ सरे पनि ४०, ५० को दशकसम्म पनि जागै थियो। माओवादीको द्वन्द्वले व्यापक रूपमा बसाइसराइ भयो। यो संस्कृति पनि हराउँदै गयो,” उनले भने।
घरपैँचो गर्दा, विवाह, छैठी जस्ता कर्ममा मारुनी नाच्ने चलन केही हदसम्म अहिले पनि छ। मारुनी दशैँबाट शुरू भए पनि पूर्ण रूपमा तिहारसँग जोडिएको उनको कथन छ। पाल्पाको बल्डेङ्गढीका राजा बलिहाङको नाममा भैलो भट्याउने, त्यो सकिएपछि मारुनी र सोरठी नाच्ने चलन चलेको उनले बताए।

मारुनी, घाँटु ननाच्ने गाउँमा बुहारी पाउनै गाह्रो
करिब ४० वर्षअघि, पश्चिम पहाडका गाउँमा मारुनीको असाध्यै महत्त्व हुन्थ्यो। यतिसम्म कि मारुनी र घाँटु नाच ननाच्ने गाउँमा बुहारी पाउनै मुस्किल थियो। ४० को दशकमा जुन गाउँमा मारुनी र घाँटु नाच्दैनन्, त्यो गाउँमा बिहे गरेर छोरी नै नदिनू भन्ने उक्ति नै चलेको थियो।
“जुन गाउँमा मारुनी र घाँटु नाच्दैनन्, त्यो गाउँमा छोरी नै नदिनू भन्थे,” अध्येता श्रीस भन्छन्, “जन्मदेखि मृत्यु संस्कारसम्म मारुनी जोडिएको छ। जुन गाउँमा मारुनी र घाटु नाच्दैनन्, त्यो संस्कार नै अपूर्ण हुन्छ भन्ने उखान नै बनेको थियो।”
त्यसको प्रभाव अन्य जातिमा पनि सर्दै आएको उनले सुनाए। जस्तो, अहिले धनकुटामा राई समुदायका केही जातिमा मृत्यु संस्कारमा मारुनी अनिवार्य भइसकेको छ। मृत्यु, जन्म जस्ता संस्कारमा मारुनी ननचाए अपूरो र अशुद्ध हुने विश्वास रहेको श्रीस बताउँछन्।
पश्चिम पहाडमा कुमाल, माझी, दराइ, दुरा, गुरुङ, ठकुरी लगायतका जाति तथा पूर्वमा राई र लिम्बूले पनि मारुनी नाच्न थालेको उनले बताए। नुवाकोटको बिदुर नगरपालिकामा बाहुन र क्षेत्री समुदायमा पनि मारुनी नाच जोडिएको उल्लेख गर्दै उनले मकवानपुरको हेटौँडामा तामाङ समुदायले पनि मारुनी नाच्ने गरेको सुनाए।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ का स्थानीयबासी अहिले हराइसकेको ठूलो नाच ब्युँताउन जुटेका छन्। स्थानीय हिरा पल्लि मगरका अनुसार २२–२५ वर्ष पहिले धेरैले छोडिसकेको ठूलो नाच (मारुनी) ब्युँताउन गाउँ नै जुरमुराएको छ। “छोडेका थियौँ, अहिले फेरि जगाउन लागिपरेका छौँ। नाच्ने मान्छेको कमी पनि भयो, यसलाई जगाउन जुट्दै छौँ,” उनले भने, “अर्को सालदेखि त हामी बाहिर पनि देखाउन लैजान सक्छौँ।”
बाजेका पालादेखि सिकेको र अंगालेको संस्कृति नयाँ पुस्ताले कसरी अगाडि बढाउँछ भन्नेमा धेरै कुरा भर पर्ने उनले सुनाए। गाउँमा होमस्टे सञ्चालनमा ल्याएपछि मारुनीको आवश्यकता थप महसुस भएको उल्लेख गर्दै उनले भने, “झाम्रे नाच देखाउँदै आए पनि अब ठूलो नाच पनि देखाउने तयारीमा हामी लागेका छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
