तिहारमा झिनियाँसँगै तयारी रोटीको बढ्यो माग

तिहार शुरू भएसँगै बागलुङ बजारका महिला उद्यमीहरूले उत्पादन गरेका रोटीका परिकार खरिद गर्नेको घुइँचो लाग्ने गरेको छ।

बागलुङ– जिल्लामा पछिल्लो समय तिहारमा झिनियाँसँगै अन्य तयारी रोटीको खरिद बिक्री हुन थालेको छ। तिहारमा बढी प्रयोगमा आउने परिकारका रूपमा मानिएको झिनियाँ र चिनी रोटीसहित विभिन्न रोटीका परिकारको माग उच्च रहेको छ।

झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि यसअघि घरमा बनाउने रोटीका परिकारसमेत स्थानीयले खरिद गरेर लैजान थालेका छन्। अहिले तिहार शुरू भएसँगै बागलुङ बजारका विभिन्न महिला उद्यमीले उत्पादन गरेका रोटीका परिकार खरिद गर्नेको घुइँचो लाग्ने गरेको हो।

बागलुङ नगरपालिका–२ स्थित मरेपिपलमा झिनियाँसहित सात प्रकारका परिकार बनाउँदै आएकी मिरा श्रेष्ठले तिहार शुरू भएसँगै झिनियाँ, चिनी, फिनी, भेलीलगायत परिकारको माग उच्च भएको बताए।

एघार वर्षदेखि व्यावसायिक रूपमा रोटीका परिकार बनाएर बिक्री गर्दै आएकी उनले अन्य समयमाभन्दा तिहारमा बढी बिक्री हुने उल्लेख गरिन्। हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो पर्व तिहारका अवसरमा बढी प्रयोग हुने झिनियाँ बनाउन यहाँका महिला उद्यमीलाई भ्याईनभ्याई छ।

“पहिला झिनियाँको मात्रै व्यापार हुन्थ्यो, पछिल्लो समय झिनियाँमा रङ मिसाउन छोडेपछि सेतो झिनियाँ मात्रै बिक्री गर्छौं। चिनी तथा फिनी, तयारी सेल रोटीको माग उच्च छ। तयारी रोटी बनाउन झन्झटिलो हुने भएकाले बजारबाट खरिद गरेर लैजाने प्रचलन बढेको पाइएको छ,” श्रेष्ठले भने, “यस पटक चिनी, फिनी र सेल रोटीको माग बढी छ।”

तिहारको समयमा झिनियाँको माग बढ्न थालेपछि श्रेष्ठसहित यहाँका अन्य घरेलु उद्यमी महिलालाई झिनियाँ बनाउन भ्याईनभ्याई भएको छ। महिला उद्यमी श्रेष्ठले यस पटक सेतो झिनियाँ बजारमा ल्याएको बताउँदै रङ मिसाएका परिकार बिक्री गर्न पालिकाले रोक लगाएपछि रङ मिसाउन बन्द गरिएको उनले उल्लेख गरिन्।

श्रेष्ठले दशैँतिहारको समयमा मात्रै तयारी रोटी बिक्री गरेर ४–६ लाख रुपैयाँ आम्दानी हुने जानकारी दिइन्। तिहारको भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीका रूपमा दाजुभाइलाई खुवाउने परम्परा रहे पनि अन्य पूजाआजा र चाडपर्वमा पनि माग हुने गरेको उनले बताइन्।