स्पेनको बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह

स्पेनी अधिकारीहरूले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन आग्रह गरेका छन्।

तस्वीर : एएपीएफ

स्पेनी अधिकारीहरूले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन आग्रह गरेका छन्।

बुधबार आएको बाढीमा परी कम्तीमा ९५ जनाको ज्यान गएको छ। बाढीमा बाँचेकाको खोजीका लागि उद्धारकर्मीले तीव्ररूपमा काम गरिरहेका समय सरकारी अधिकारीले बाढीको जोखिमबाट बच्न घरबाट बाहिर ननिस्कन निर्देशन दिएका हुन्। 

स्पेनको पूर्वी शहर भ्यालेन्सिया आसपासका क्षेत्रमा आएको बाढीले तहसनहस पारेका शहरमा ड्रोनसहित उद्धारकर्ताले खोजी जारी राखिरहेका छन्। स्पेनले विपत्तिमा परी मृत्यु हुनेको सम्झनामा तीन दिन शोकको घोषणा गरेको छ।

प्रधानमन्त्री पेड्रो सान्चेजले नागरिकलाई आपत्कालीन सेवाको आग्रहलाई अनुसरण गर्न र अत्यावश्यक कामबाहेक घरबाहिर नजान आग्रह गरेको स्पेनी सञ्चारमाध्यमले जनाएका छन्। 

पूर्वी भ्यालेन्सिया र कास्टेलन प्रान्तका बासिन्दालाई सान्चेजले भनिन्, “अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सकेसम्म धेरै मानिसको ज्यान बचाउनु हो। घरमा रहेका सबै नागरिक केही समय कामलाई थाँती राखेरै भए पनि सुरक्षित रूपमा घरमै बस्नुहोस्।” 

भूमध्यसागरीय आँधीबेहरीका कारण भारी वर्षा र माटोले भरिएको पानीको बहावले मानिस, कार र भवन बगाएपछि स्पेनले बिहीबारदेखि तीन दिनको शोकको घोषणा गरेको हो। यो अवधिमा सरकारले कुनै औपचारिक कार्यक्रम नगर्न र देशभरका सरकारी भवनमा झन्डा आधा झुकाएर शोक मनाउन आग्रह गरेका छ। 

एक हजार २०० भन्दा बढी सैनिकको सहयोगमा बिहीबार आपत्कालीन सेवाले बाढीसँगै आएको माटोले ढाकिएका शहर र गाउँमा उद्धार कार्य जारी राख्नेका छन्। उनीहरूले सडकबाट भग्नावशेष सफा गर्न मद्दत गरेका छन्। धेरै मानिस अझै हराइरहेका र केही क्षेत्रहरू उद्धारकर्ता नपुगेकाले मृतकको संख्या बढ्न सक्ने सरकारी अधिकारीहरूले जनाएका छन्।