अम्बा बेचेर तिहारखर्चको जोहो

गुल्मीको पश्चिमी क्षेत्रका विपन्न परिवारका महिला पाकेका अम्बा टिपेर बिक्रीका लागि तम्घास ल्याउने गर्दछन्। उनीहरूले अम्बा बिक्री गरेर तिहारका लागि नुनतेल तथा चिनी किन्ने खर्च जुटाउने गर्छन्।

गुल्मी– जब चाडबाड नजिकिँदै जान थाल्छन् तब टाउकामा नाम्लो र पिठ्युमा डोकोभरि बेलाउती (अम्बा) बोकेर शहर पस्ने गर्छन् गुल्मीका विपन्न परिवारका महिलाहरू। 

जिल्लाको पश्चिमी क्षेत्रका विपन्न परिवारका महिला घरको चुलोचौको गर्ने समयमा पनि तिहारमा खर्चको जोहोका लागि डोकोमा अम्बाको भारी बोकेर बिहानै सदरमुकाम तम्घास धाउन बाध्य छन्।

उनीहरू दशैँतिहारजस्ता चाडबाडको समयमा बर्सेनि कहिले पैदलयात्रा त कहिले सवारीसाधनमार्फत अम्बा बिक्री गर्न सदरमुकाम तम्घास आउने दैनिकीजस्तै बनेको छ। घरदेखि तम्घाससम्म आउन यातायातको सहज पहुँच भए पनि गाडीभाडा बचाउन कतिपय पैदलै हिँडेर सदरमुकाम आउने गर्दछन्। पिठ्युँमा डोकाभरि अम्बाको भारी बोकेर झिसमिसेमा आँखा मिच्दै घरबाट हिँडेका ती महिला सदरमुकामसम्म आइपुग्दा पसिनाले निथ्रुक्कै भिजेका हुन्छन्।

गाउँमा यति बेला प्रायः धेरैका खर्यान तथा बारीमा अम्बा प्रशस्त मात्रमा पाइन्छन्। गाउँमा अम्बाको खासै महत्त्व नहुने भएका कारण उनीहरू पाकेको अम्बा टिपेर बिक्रीका लागि ल्याउने गर्दछन्। यसो गर्दा अम्बा पनि खेर नजाने र अलिकति भए पनि आम्दानी गर्न सकिने भएकाले अम्बा बोकेर बिक्रीका लागि सदरमुकामसम्म आउने जाँगर बढेको इस्मा गाउँपालिका–५ बुल्मकी भीमकला कुमालले बताइन्।

धुर्कोट गाउँपालिकाका लक्ष्मी मुखिया र राधिका मुखिया पनि तिहारमा अम्बा बिक्री गरेर नुनतेल र चिनी किन्ने खर्च जुटाउनका लागि तम्घाससम्म आइपुगेको बताउँछन्। सिजनअनुसारको फल भएका कारण सबैले मन पराउने र खान पनि निकै स्वादिलो हुने भएका कारण आफूहरू तम्घास आइपुगेको उनीहरूले बताए।

“भनेको समयमा कसैले पैसा सापटी दिँदैन, घरको अवस्था पनि त्यस्तै छ, अर्काको घरमा मेलापात गरेर जीवन गुजारा गर्नुपर्छ, त्यही भएर फुर्सदको समयमा अम्बा बिक्री गर्न आइपुगेका हौँ”, राधिका मुखियाले भनिन्।

राधिका मुखिया आफूले डोकोमा बोकेर ल्याएको अम्बा बिक्री गरेर दैनिक पाँच सयदेखि आठ सय रुपैयाँसम्म आम्दानी गर्दै आएको बताउँछिन्। एक दाना अम्बा दुईदेखि तीनमा बिक्री हुने गर्छ। “बिक्री गरेको पैसाले तिहारमा रोटी पकाउन तेल र चिनी किनेर जाने हो,” उनले भनिन्।

शहरदेखि गाउँसम्म यति बेला दशैँ सकिएसँगै तिहारको चहलपहल बढ्दै जान थालेको छ। तर जिल्लाका विपन्न परिवारका नागरिक भने तिहारखर्च जुटाउन सडकमा बसेर अम्बा बिक्रीका लागि ग्राहकको प्रतीक्षामा बसिरहेका देखिन्छन्।