रोशी खोलाको बाढीले रोशी गाउँपालिकाको नार्के र कालढुंगाका बस्ती बगाएपछि यहाँका नागरिकलाई न चाडपर्वको रौनकले छोएको छ न त बस्तीमा बत्तीको झिलिमिली छाएको छ।
काभ्रेपलान्चोक– तिहार भन्नेबित्तिकै फूल र बत्तीको झिलिमिलीसहित मनभरि हर्ष र उमंगको पर्वका रूपमा लिने गरिन्छ। समाजमा सबैसँगको सद्भाव र हर्षको पर्वका रूपमा लिने गरेको तिहारलाई सबैले उत्सव र मनोरञ्जनका रूपमा मनाइरहेका छन्।
काभ्रेपलान्चोकका अधिकांश परिवारले भने यस वर्षको तिहारलाई हर्षका रूपमा मनाउन पाएका छैनन्। गत असोजको १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको बाढीपहिरोले घरबार सबै बगाएपछि यहाँका अधिकांशको घरआँगनमा फूल र बत्तीको झिलिमिली नभई मनभरि पीडा मात्र छाएको छ।
मनभरि पीडा बोकेर तिहार मनाउन नसकिएको पनौती नगरपालिका–१२ माथिल्लो राशी बजारका भवानी केसीले बताइन्। घरनजिकै रहेको खोल्सामा कलकल बगिरहेको पानी अनि वरिपरि हरियाली वातावरणसहितको सुन्दर बस्तीमा एक्कासि गएको बाढीपहिरोले घरखेत सबै बगाएपछि बगर बीचमा ढलिरहेको घर देख्दा पीडाले मनमा सताइरहने उनले बताइन्।
घरआँगनमा तिहारका लागि रोपेको सयपत्री फूलको बगैँचासहितको उनको घर अहिले बाढीले खण्डहर बनाएर बगरमा परिणत भएको छ। “यहाँ बस्ने ठाउँ छैन, खेती गरेको धान बगाएर थोरै बाँकी थियो, त्यही जोगाउन भनेर आएकी हुँ”, भवानीले भनिन्, “अहिले बनेपामा कोठा लिएर बस्दै आएका छौँ।”
राजेन्द्र श्रेष्ठले भित्र्याइसकेको धान र मकै सबै बगाएपछि कोठा लिएर बस्नु परेको बताए। “बस्ने बाँस, खाने गाँस र पिउने पानी छैन,” उनले भने, “दशैँ पनि अर्काको घरमा बितायौँ, तिहार पनि त्यसै हुने भयो।” वडा कार्यालयले पीडितको विवरण संकलन गरेर लगेको भन्दै उनले यथाशीघ्र वासस्थानको व्यवस्थापन हुने विश्वास व्यक्त गरे।
घरगोठ दुवै बगाएपछि पनौतीमा डेरा गरी बस्दै आएकी पनौती–१२ पचारेका सुमिना श्रेष्ठले वडा र नगरबाट केही राहत पाइएको बताउँदै उक्त राहत चाडपर्व मनाउन पर्याप्त नभएको उल्लेख गरिन्। बाढीले भएको जग्गाजमिन सबै बगाएको भन्दै राज्यले जग्गाको नाप, नक्सा छुट्याएर दिएमा आफ्नै टहरा बनाएर बस्ने उनले बताइन्।
शिरखोलका अमरबहादुर केसीको बाढीले बगाएर घर र शौचालयको भाग थोरै मात्रै बाँकी रहेको देखाउँदै पाक्दै गरेको धान भित्र्याउन नपाउँदै करिब नौ मुरी धान फल्ने खेतसहित बगाएको बताए।
रोशी बजारका शंकर तामाङ भने खर्च जुटाएर बाढीले बगाएको घर निर्माण गर्न खोलाबाट ढुंगा ओसार्ने काममा व्यस्त छन्। ढुंगामाटोले बनेको आफ्नो दुईतले घर खोलाले बगाएर बगर बनाएपछि अहिले उनी घर निर्माणमा व्यस्त भएका हुन्। घर नै नभएपछि चाडपर्व खुशीले मनाउने अवस्था नरहेको उनले बताए।
“घर बनाउन पैसा छैन, छ जनाको परिवारको जीविकोपार्जन गर्नु छ। दूध बेचेर आम्दानी गर्ने भैँसी बाढीले बगायो। अहिले ज्यालामजदूरी गरी अरूको घरमा बस्न बाध्य छौँ,” तामाङले भने।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले सुरक्षित रूपमा बसोबासको व्यवस्थापन गर्न आवश्यक रहेकाले त्यसका लागि संघीय सरकारले सहयोग नगरी सम्भव नभएका आवश्यक सहयोगका लागि पहल गरिरहेको बताए।
जिल्लाको विकट डाँडापारिस्थित बागमती खोलाको बाढीले सबै बगाएपछि खानीखोला गाउँपालिका–६ चनौटेका तामाङ बस्तीका बासिन्दा बगाएको बस्तीमाथि त्रिपालको आश्रय लिएर बस्दै आएका छन्।
अस्थायी वासस्थान निर्माणका लागि क्षतिको विवरण आवश्यक पर्ने भएकाले प्रहरी विवरण संकलन गरिरहेको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताए। क्षतिको सम्पूर्ण विवरण संकलन भएपछि राहत र पुनर्स्थापना प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।
रोशी खोलाको बाढीले रोशी गाउँपालिकाको नार्के र कालढुंगाका बस्ती बगाएपछि यहाँका नागरिकलाई न चाडपर्वको रौनकले छोएको छ न त बस्तीमा बत्तीको झिलिमिली छाएको छ। जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोले घर बगाएर बिचल्लीमा परेका परिवारले सुरक्षित वासस्थानको अभावमा खुशीले चाडपर्व मनाउन पाएका छैनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
