कमला ह्यारिसले चुनाव जितेको हेर्न चाहन्छ युरोप

यदि डोनाल्ड ट्रम्प राष्ट्रपतिमा पुन: निर्वाचित भए युरोपले गम्भीर समस्याहरूको सामना गर्न सक्छ। सुरक्षा र स्वतन्त्र व्यापार सम्झौता खतरामा पर्न सक्छ।

जर्मन चान्सलर स्कोल्ट्ज ह्यारिसले अमेरिकी राष्ट्रपति चुनाव जितेको हेर्न चाहन्छन्।

यदि युरोपेलीहरूलाई नोभेम्बर ५ (भोलि) मा हुन लागेको अमेरिकाको राष्ट्रपति चयन गर्ने अधिकार भए, परिणाम स्पष्ट थियो। पश्चिमी युरोपका ६९ प्रतिशत र पूर्वी युरोपका ४६ प्रतिशत जनताले डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई मतदान गर्ने थिए।

पोलस्टर नोभस र ग्यालप इन्टरनेसनलले अक्टोबरमा गरेको सर्वेक्षणअनुसार रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले पश्चिमी युरोपमा १६ प्रतिशत र पूर्वी युरोपमा ३६ प्रतिशत मतदाताको मात्र समर्थन पाउनेछन्।

ह्यारिसको रेटिङ डेनमार्क (८५ प्रतिशत) र फिनल्यान्ड (८२ प्रतिशत) छ। युरोपमा डोनाल्ड ट्रम्पको सबैभन्दा धेरै फ्यान सर्बिया (५९ प्रतिशत) र हंगेरी (४९ प्रतिशत) छन्। यी दुवै देश निरंकुश बन्दै गएका छन्। अर्को शब्दमा भन्नुपर्दा यी दुवै देशमा एउटै समूह पूर्ण रूपमा सत्तामा छ, जसका कारण जनताको स्वतन्त्रता खतरामा परेको छ।

ट्रम्पको फ्यान संख्या कम छ
“यदि ट्रम्पले चुनाव जिते भने यो सबैभन्दा राम्रो कुरा हुनेछ, हंगेरीका युरोपेली संसदका सदस्य एन्ड्रेस लाज्लोले डीडब्लूसँगको कुराकानीमा भने। लाजलो हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानको पार्टीका सदस्य हुन्, जसलाई रुसको समर्थक मानिन्छ।

दक्षिणपन्थी राष्ट्रवादी विचारधारा भएका नेता लाज्लोले भने, “अमेरिकाका जनता त्यहाँको राजनीतिमा परिवर्तन चाहन्छन्। उनीहरू अहिलेको अवस्थाबाट दिक्क भएका छन् र ट्रम्पले मात्रै यसलाई परिवर्तन गर्न सक्छन्।”

उनले ब्रसेल्स अर्थात युरोपेली संघ (ईयू)मा पनि यस्तै परिवर्तन आवश्यक रहेको बताए। उनले भने, “के हामी युक्रेन, मध्य पूर्व र दक्षिणपूर्वी एशियामा बढ्दो द्वन्द्व रोक्न सक्छौं?” उनको विचारमा ट्रम्पले मात्रै यस मामिलामा सम्पूर्ण विश्वको नेतृत्व गर्न सक्छन्।

ईयूको अध्यक्षता समय समयमा परिवर्तन हुन्छ। हाल हंगेरीले युरोपेली संघको परिषद्को अध्यक्षता गरिरहेको छ। हंगेरीका प्रधानमन्त्री ओर्बानले यो वर्ष किभ, मस्को, बेइजिङ र ट्रम्पको निवाश पाम बीचमा ‘शान्ति अभियान’मा गएर ईयूमा आक्रोश पैदा गरेका छन्।

डोनाल्ड ट्रम्पले युक्रेनमा भएको रुसी युद्धलाई केही दिनमै अन्त्य गर्न सक्ने ओर्बानको विश्वास छ। अक्टोबरमा, ओर्बानले ट्रम्पको विजयपछि ठूलो उत्सव हुने बताएका थिए। उनी युरोपेली संघ र उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)मा यो दृष्टिकोण राख्ने एक मात्र राज्य प्रमुख हुन्।

ब्रसेल्सस्थित युरोपेली नीति अध्ययन केन्द्रका वरिष्ठ अनुसन्धानकर्ता स्टीभन ब्ल्याकमेनले भने, “यद्यपि, नेदरल्यान्ड्सदेखि जर्मनी र इटालीसम्मका धेरै दक्षिणपन्थी र राष्ट्रवादी नेताहरू ओर्बानसँग पक्कै सहमत छन्।”

ह्यारिसको नीतिहरूबारे धेरैलाई पहिलेदेखि नै अनुमान 
युरोपेली संघका अधिकांश प्रमुखहरूले ह्यारिसलाई समर्थन गर्छन्। जर्मन चान्सलर ओलाफ स्कोल्ट्जले एक टिभी अन्तर्वार्तामा भनेका छन्, “म उनलाई राम्ररी चिन्छु। उनी पक्कै पनि असल राष्ट्रपति हुनेछिन्।”

ट्रान्स–एट्लान्टिक सहयोगको सन्दर्भमा स्कोल्ट्जले भने, “हाम्रो लागि महत्त्वपूर्ण कुरामा ह्यारिस अडिग रहन चाहन्छिन्।”

ह्यारिसको जितमा युरोपले कस्तो प्रतिक्रिया दिनेछ? यस प्रश्नको जवाफमा, ब्ल्याकमेनले भने, “एकदम राहतको सास।” धेरै मानिसहरूलाई पहिले नै ह्यारिसको नीतिहरूको बारेमा थाहा छ उनी चार वर्षसम्म अमेरिकी राष्ट्रपति जो बिडेनको उपराष्ट्रपति भइन्।

उनले थप भने, “युरोपमा रणनीतिक रूपमा आत्मनिर्भर हुने कुरा धेरै छ, तर पनि युरोप विशेषगरी सुरक्षा र ऊर्जाका हिसाबले अमेरिकामा बढी निर्भर भएको छ।”
रुसविरुद्धको युद्धमा युक्रेनलाई सहयोग गर्न अमेरिकाले पनि महत्वपूर्ण भूमिका खेलेको छ। ब्ल्याकमेनले रुससँगको उर्जा सम्बन्ध अन्त्यका कारण अमेरिकी ग्यास निर्यातमा युरोपको निर्भरता बढेको बताए।

यस्तै, नेदरल्यान्ड्सको ग्रीन लेफ्ट पार्टीकी नेता तथा युरोपेली संसदकी सदस्य टिनेके स्ट्रिकले भनिन्, “ह्यारिसले मानिसहरूलाई आशा दिएकी छन्। अमेरिका र युरोपका लोकतान्त्रिक शक्तिहरू एकसाथ जोडिनु ठूलो जित हुनेछ। यही समयमा ट्रम्पले विश्वका तानाशाहसँग मित्रता गाँस्न इच्छुक देखिन्छन्। ट्रम्पका कारण यस्ता मानिसको मनोबल बढ्नेछ र यो लोकतन्त्र, मौलिक अधिकार र हामी बस्न चाहेको संसारका लागि निकै नराम्रो खबर हो।”

सबै सम्भावित परिस्थितिहरूको लागि तयार
युरोपेली संसदको विदेश मामिला समितिका प्रमुख र जर्मन कन्जरभेटिभ डेभिड म्याकअलिस्टर कसैबाट धेरै आशा गर्नु नहुने बताउँछन्। भावी राष्ट्रपति ट्रम्प वा ह्यारिस जो भए पनि उनीहरुले ईयूबाट धेरै माग गर्न सक्ने म्याकअलिस्टरको भनाइ छ।

उनले चेतावनीको स्वरमा भने, “हामीले यस निर्वाचनको सम्भावित परिणामका लागि तयार हुनुपर्छ, ह्वाइट हाउसमा जोसुकै भए पनि अमेरिकासँग जतिसक्दो नजिक रहनु हाम्रो हितमा छ। तर म पक्का छु कि ह्यारिस सरकारले पनि युरोपका जनताले आफ्नो रक्षा र सुरक्षाको प्रयास आफैँले गर्नुपर्छ भनेर भन्नेछ।”

ईयूका २७ सदस्य राष्ट्रहरूका कूटनीतिज्ञहरू र ईयू आयोगका अधिकारीहरूले अमेरिकी चुनावको नतिजालाई कसरी व्यवहार गर्ने भनेर गत हप्तादेखि गोप्य रूपमा छलफल गर्दै आएका छन्।

ईयूका एक कूटनीतिज्ञले आफ्नो नाम नछाप्ने सर्तमा आर्थिक र सुरक्षा नीतिलाई सकेसम्म ‘ट्रम्पप्रुफ’ बनाउने यसको मुख्य उद्देश्य रहेको बताए। उदाहरणका लागि, यदि ट्रम्पले राष्ट्रपति बनेपछि युरोपबाट आउने सामानहरूमा दण्डात्मक कर लगाएमा, यसको उद्देश्य तुरुन्तै बदला लिन सक्षम हुनु हो।

विशेष तयारी आवश्यक छ
जर्मन नेता र युरोपेली संसदको अन्तर्राष्ट्रिय व्यापार समितिका अध्यक्ष बन्र्ड लाङले भने, “हामीले आफ्नो हितलाई लडाइँ नगरी छोड्न तयार छैनौँ। हामीले हाम्रो स्रोतसाधनलाई उल्लेखनीय रूपमा विस्तार गरेका छौँ। मलाई यकिन छ कि, चुनावपछि हामी यी संसाधनको प्रयोग ती चिजसँग लड्नका लागि प्रयोग गर्नेछौँ जो पहिलेदेखि नै गलत छन्, जस्तै स्टिलमा अवैध शुल्क वा मुद्रास्फीति समायोजन ऐनबाट सब्सिडी आदि।”

चुनावमा जो कोहीले जिते पनि अमेरिकाको व्यापार नीति ईयूको लागि अझ चुनौतीपूर्ण हुने उनको विश्वास छ।

“म भन्न चाहन्छु कि अमेरिका आर्थिक नीतिहरूको सन्दर्भमा बहुपक्षीयबाट घरेलु दृष्टिकोणमा अघि बढिरहेको छ। म यसलाई ‘होमल्यान्ड’ अर्थतन्त्र भन्छु। यस अवस्थामा रिपब्लिकन र डेमोक्रयाटबीच धेरै भिन्नता छैन।”

जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले विदेश र सुरक्षा नीतिका लागि पनि यस्तै भविष्यवाणी गरेका छन्। अक्टोबरको अन्त्यमा लन्डन भ्रमणको क्रममा उनले पत्रकार सम्मेलनमा भनेका थिए, “आउने समयमा अमेरिका कुनै न कुनै तरिकाले युरोपमा कम सक्रिय हुनेछ। त्यसैले हामीले आफ्नो रक्षा र हितका लागि धेरै काम गर्नुपर्ने छ।”

डीडब्लूबाट