चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माण सम्पन्न

समुद्री सतहबाट ६८० देखि २६०० मिटरसम्म पर्ने भूभागमा बनेको प्रसारण लाइनका लागि ७६ वटा टावर निर्माण गरिएका छन्।

काठमाडौँ– त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न महत्त्वपूर्ण मानिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ।

रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेँंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको हो।

दशैँ र तिहारको सार्वजनिक बिदामा समेत कर्मचारी, निर्माण व्यवसायी अहोरात्र खटेर प्रसारण लाइन निर्माण सम्पन्न गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। घिसिङले प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा निर्माण भएका १११ मेगावाटका रसुवागढी र ४२.५ मेगावाटको साञ्जेनसहित रसुवामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारण लाइन पूर्वाधार तयार भएको उल्लेख गरे। रसुवागढी र साञ्जेन आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन्।

“भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनुपर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुङ्गागिट्टी, बालुवा, टावरका सामान, पानी मानिस या खच्चरबाट बोकाएर लैजानुपर्ने अवस्था थियो,” उनले भने, “बाढीपहिरो, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९, निर्माणस्थल हिमाली र पहाडी क्षेत्रमा पर्ने भएकाले लाइन निर्माणमा मौसमको पनि प्रतिकूल प्रभावजस्ता कारणले समस्यामा परेको आयोजना निरन्तरको प्रयासपछि निर्माण सम्पन्न हुन ठूलो उपलब्धि हो।”

उत्तरतर्फको छिमेकी देश चीनसँगको विद्युत् व्यापारका लागि चिलिमे–केरुङ अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न लागिएको छ। चिलिमे–त्रिशूली प्रसारण लाइनले नै चीनलाई जोड्ने छ। चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नै २२०-१३२-३३ केभीका चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन्। त्रिशूली थ्रि बी हब सबस्टेसनमा आएको विद्युत् काठमाडौँको मातातीर्थसम्मको त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनहुँदै राष्ट्रिय प्रणालीमा समाहित हुनेछ। सान्जेन र रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् चिलिमे हब सबस्टेसनमा जोडी चिलिमे–त्रिशूली प्रसारण लाइन हुँदा राष्ट्रिय प्रणालीमा समाहित हुनेछ।

प्रसारण लाइनका लागि ७६ वटा टावर निर्माण गरिएका छन्। प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि २६०० मि सम्मपर्ने भूभागमा निर्माण गरिएको छ। कूल ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नुपर्ने अवस्था थियो। उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको छ।

प्रसारण लाइन अन्तर्गत  चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म आठ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ। कोरियन कम्पनीको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको विद्युत् जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो। माथिल्लो त्रिशूली–१ ले  मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्ने छ।

अनुमानित लागत तीन अर्ब  ६२ करोड ८९ लाख अमेरिकी डलर रहेको चिलिमे–त्रिशूली आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र जर्मन विकास बैँक (केएफडब्लू)को अनुदान रहेको छ। युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैंक (ईआईबी)को आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ। 

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता २०७४ साल पुसमा कार्यान्वयनमा आएको थियो।