उत्तराखण्डको मार्चुला बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुग्यो

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले अल्मोडा बजारनजिकैको जंगलमा भएको उक्त दुर्घटनाबारे अनुसन्धान गर्न निर्देशन दिइसकिएको बताएका छन्।

भारतको उत्तराखण्डमा सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुगेको छ।

प्रहरी अधिकारीका अनुसार उत्तराखण्ड राज्यको अल्मोडा जिल्लाको मार्चुला क्षेत्रमा सोमबार बिहान ८ः३० बजे दुर्घटना भएको हो। मार्चुला भारतको पहाडी राज्य उत्तराखण्डको पर्यटकीय गन्तव्य हो।

दुर्घटनामा थप केही व्यक्ति घाइते भएका र घाइतेमध्ये गम्भीर अवस्थाका तीन जनालाई हवाई उद्धार गरी देहरादून लगिएको छ।

सरकारी उद्धार टोलीले सार्वजनिक गरेका तस्वीरमा बसको भग्नावशेष बाक्लो झाडीमा देखिन्छन् भने बसको अगाडिको भागमा पूर्णरूपमा क्षति भएको छ।

उत्तरी राज्य उत्तराखण्डका एक वरिष्ठ अधिकारी दीपक रावतले भने, “अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ। गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरमार्फत अस्पताल लगिएको छ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाका कारण आफ्ना प्रियजन गुमाएकाप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

प्रधानमन्त्रीको कार्यालयबाट जारी एक विज्ञप्तिमा मृतकका परिवारलाई दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ सहयोग स्वरूप दिने जनाएको छ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले अल्मोडा बजारनजिकैको जंगलमा भएको उक्त दुर्घटनाबारे अनुसन्धान गर्न निर्देशन दिइसकिएको बताएका छन्।

भारतको पहाडी इलाकामा सडकको दुरावस्था, पुराना यातायातका साधन र चालकको लापरबाहीका कारण हुने दुर्घटनाका कारण हरेक वर्ष सयौँ व्यक्तिको अकालमा मृत्यु हुने गरेको छ।