हुम्लामा ३ दिनपछि पुनः शरू भयो हवाई उडान

सोमबार नेपालगन्जदेखि सिमकोटका लागि तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेका हुन्। 

फाइल तस्वीर

हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः शुरू भएको छ। मौसम सफा भए पनि लक्ष्मी पूजाको दिनदेखि हवाई उडान हुन सकेको थिएन। 

नेपालगन्जदेखि उडान भर्दै आएका निजी र सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको उडान तालिका नभएका कारण सोमबार मात्रै उडान सञ्चालन गरेको सिमकोट विमानस्थल कार्यालयले जानकारी दिएको छ। सोमबार नेपालगन्जदेखि सिमकोटका लागि तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेका हुन्। 

नेपालगन्जदेखि तारा र नेपाल एयरलाइन्सले एक–एक पटक उडान भरेको विमानस्थलले जानकारी दिएको छ। दुवै एयरलाइन्सले नेपालगन्जदेखि यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामानसमेत ढुवानी गरेका थिए।

अन्य सीता र समिट एयरले तीन दिनदेखि उडान भर्न नसकेको छैनन्। नेपालगन्जदेखि उडान भर्दै आएका जहाजले आफ्नो तालिकाअनुसार हुम्लामा उडान भर्दै आएका छन्।

मंगलबारका लागि नेपालगन्जदेखि नेपाल एयरलाइन्सले आफ्नो उडान तालिकाअनुसार उडान भर्ने भएको छ।

दशैँ, तिहार सकिएसँगै सिमकोटबाट जिल्लाबाहिर जाने यात्रुको चाप बिस्तारै बढ्दै गएको छ। यो समयमा नेपालगन्ज र सुर्खेतबाट हुम्ला आउने यात्रुको चाप नभए पनि हुम्लादेखि जिल्लाबाहिर जाने यात्रुको चाप भने धेरै रहेको बताइएको छ।