विश्वकप कि पुरुष-कप?

संसारका अनेक दर्शन, धर्म, खेल,  साहित्यलगायत तमाम अन्य कुरा पुरुषलाई नै केन्द्रमा, त्यही नजर वा लेन्सबाट हेरिन्छ। अथाह पैसा खन्याइएको वर्ल्ड कपको महँगो मेला पनि आखिर पुरुषहरूकै मात्र विश्वकप भएको छ।

पुरुषहरूको मात्रै सहभागिता रहने चारबर्से फुटबल खेलको विश्वव्यापी प्रतियोगितालाई विश्वकप फुटबल भनिने गरिएको छ। सबैले विश्वकप फुटबल भनेको र त्यसै गरी विश्वव्यापी रूपमा प्रचार गरिएका कारण त्यसलाई विश्वकप फुटबल भनिँदै आएको हो। तर के साँच्चै यो विश्वकप फुटबल नै हो त? 

महिलावादी/समतावादीहरूले पहिलेदेखि नै तर्क गर्दै आएका छन् कि यो संसार नै पुरुषको हो। महिलावादीहरूले त्यसो किन भनेका हुन् भने संसारका सबै धर्म, संस्कृति, परम्परा र मान्यता पुरुष प्रभुत्व दृष्टिकोणबाट सोचिएका हुन, निर्माण गरिएका हुन र स्थापित गरिएका हुन। पुरुष वर्चस्वलाई केन्द्रमा राखिएर निर्मित छन् ती विचार र परम्परा। छनलाई यो विश्व, समाज र घरपरिवारमा महिला पनि छन् तर दबदबा भने पुरुषको रहँदै आएको छ। चर्चा पुरुषकै हुँदै आएको छ। उसो त अहिले विश्वमा महिलाको जनसङ्ख्या पुरुषको जनसङ्ख्या भन्दा बढी नै भइसकेको छ। पुरुष र महिला सरोबरी भएको संसारमा पुरुषकै चर्चा हुन्छ, उनीहरू नै देखिन्छन्। हामीले भुल्नु हुन्न कि यो संसारमा लैंगिक अल्पसंख्यकहरू पनि बस्छन्। 

संसारका अनेक दर्शन, धर्म, खेल,  साहित्यलगायत तमाम अरू विधामा पनि पुरुषलाई नै केन्द्रमा राखेर, त्यही नजर र लेन्सबाट हेरिन्छ। अथाह पैसा खन्याइएको वर्ल्ड कपको महँगो मेला पनि आखिर पुरुषहरूकै मात्र विश्वकप फुटबल हो। उदाहरणको लागी समतामूलक समाजमा अथवा कुनै आदर्श समाज छ भने सायद त्यहाँ लेखक र प्रकाशक शब्दमा लैंगिक मानचित्र हुँदैन होला ! तर हाम्रो समाजमा सामान्यतः लेखक  या प्रकाशक भन्ने बित्तिकै मान्छेको दिमागमा एउटा पुरुषकै चित्र आउँछ। फुटबल भन्ने बित्तिकै जर्सी लगाएको अग्ला र चौडा पुरुषकै कल्पना गरिन्छ। खेलाडी, वकिल होस् या नेता नै भन्दा किन नहोस्, धेरै विधामा यस्तै खालका चित्र आउँछन् मान्छेका कल्पनामा। यसका कारण के होलान्?

युगौँदेखि हामीले सुन्दै आएका कथा कुथुङ्ग्री, उखान टुक्का, धार्मिक, ऐतिहासिक र मिथकसँगै समाजका सार्वजनिक व्यवहारमा पुरुषहरूकै प्रभुत्व देखिन्छ। हाम्रा गीत, उखान टुक्का र साहित्यिक र सांस्कृतिक बिम्बहरूले पनि  निरन्तर पौरुष महिमा गाएका हुन्छन् र हाम्रो सामाजिक, राजनैतिक र सांस्कृतिक दृष्टिकोण र आचार व्यवहारमा पुरुष सत्तालाई नै श्रेष्ठ मानिएको जस्तै छ। विश्वकप फुटबल पनि पुरुषहरूको खेल हो जसलाई विशेष गरी हाम्रो देशमा बहुसङ्ख्यक पुरुषले हेर्छन्। विश्वकप फुटबल पनि पुरुषको मात्रै खेलका रूपमा स्थापित हुनुमा यी माथिका कारण जिम्मेवार छन्। 

विचित्र के छ भने फुटबल खेल्नेहरू त केबल पुरुष छँदै छन्, त्यहाँ संलग्न रेफ्री पनि प्राय: पुरुष नै छन्। खेल हेर्ने अधिकांश दर्शक, फुटबलबारे टिप्पणी गर्ने र लेख्ने पत्रकार र मिडियाकर्मीहरू प्रायः पुरुष नै छन्। चिया पसल र क्याफेदेखि भट्टीमा फुटबलबारे गफ गर्नेहरू पनि पुरुष नै बढी भेटिन्छन्।

फुटबल खेल, दंगा र घरेलु हिंसा
हामीलाई प्राय: के बताइन्छ भने खेलले अनुशासन सिकाउँछ। खेलभित्रका नियमका सन्दर्भमा त्यो ठिक नै होला तर आम रूपमा त्यस खेलमा संलग्न खेलाडी होस् या खेलकै दर्शक, आफ्नो पक्षले खेलमा हार्दा आक्रोशित भएर तोडफोड गर्ने, विपक्षीसँग झगडा गर्ने र घरेलु हिंसाका घटना पनि हुन्छन्, जसबारे खासै समाचार बन्दैनन्। खास गरी फुटबल क्रिकेटलगायत खेलमा त्यो देखिन्छ। गत अक्टोबरमा इन्डोनेसियामा फुटबलमा जित हारकै कुरा लिएर फरक पक्षबीच दंगा हुँदा १५० भन्दा बढी मान्छे नै मरे। भर्खरै कतारमा हुँदै गरेको वर्ल्डकपमा मोरक्कोसँगको खेल हारेको आक्रोशमा बेल्जियमको राजधानीमा आक्रोशित भीडले आगजनी र तोडफोड गर्‍यो। 

अमेरिकामा नेशनल फुटबल लिगको दौरान पनि घरेलु हिंसाका धेरै घटना हुन्छन् भन्ने कुरा सार्वजनिक भएका छन् र प्रायजसो हिंसा गर्नेहरू पुरुष नै हुन्छन्। आफ्नो पक्षले खेल हार्दा पुरुषहरू घरेलु हिंसामा समेत उत्रने रहेछन्। जाँडरक्सी सेवनले महिला तथा अन्य घरेलु हिंसालाई बढाउने रहेछ। खेल-याम सुरु भएपछि खेल प्रेमीमा मद्यपान सेवनको दर बढ्छ र त्यसले हिंसा निम्त्याउँछ। खेलको आनन्द लिने प्राय:जसो पुरुष, मद्यपान गर्ने पुरुष, र दंगा फसाद गर्ने र हिंसा गर्ने पनि (धेरैजसो) पुरुष नै, तर पीडित हुने चाहिँ महिला। त्यसको मतलब 'एग्रेसिभ म्यास्कुलिनीटी'को प्रदर्शन गर्ने एउटा मञ्च पनि हो विश्व-पुरुष फुटबल। 

नेपालमा यस्ता स्पोर्ट्स र घरेलु हिंसासित सम्बन्धित अनुसन्धान गरिएको छ वा छैन भन्ने मेरो जानकारीमा छैन तर विश्वका विभिन्न रिपोर्टहरूले पनि यस्ता 'मेगा स्पोर्ट इभेन्ट'का बेला घरेलु हिंसा बढ्ने गर्छन् भन्ने कुरालाई प्रमाणित गरेका छन्। यदि हामीले त्यस्तो खोज गर्‍यौँ भने पक्कै त्यस्तै खालका तथ्य पक्कै बाहिर आउलान्। विश्वकपका बेला जाँडरक्सीको खपत हाम्रामा पनि पक्कै बढेकै छ।

खेलले प्रतिस्पर्धाको भावना सिर्जना गर्छ मनोरञ्जन दिन्छ, ऊर्जा दिन्छ। त्यसो हो भने यस्ता विषय र अवसरबाट महिलालाई किन वञ्चित राखिन्छ त? यसको उत्तरमा कतिपय व्यक्ति भन्छन्, "कसले छेकेको छ महिलालाई ? सके आफू पनि खेल्नु। किन हरेक कुरामा महिला-पुरुष भनेर अर्घेल्याइँ गरेको? किन द्वन्द्व निम्त्याएको?" यो चाहिँ लैंगिक भेदका समस्या नबुझ्नेले गर्ने कुरा हो। खेलदेखि हरेक क्षेत्रमा केबल पुरुष नै पहिले या या योग्य हुन्छन् ठान्ने सोच नै मूल समस्या हो। अर्को कुरा, तथाकथित मर्दाङ्गीको प्रदर्शन हुने यस्ता खेललाई मिडियाले पनि प्राइम टाइममा देखाउँछन्। जबकि महिला सहभागी कति खेलहरू आम दर्शकले प्राइम टाइममा हेर्न पाउलान् ? 

सदियौँ यता महिला घरबाट बाहिर निस्कन पाएका छैनन्। भर्खर भर्खर उनीहरू घर बाहिरको सार्वजनिक जीवनमा छिरेका छन् र खेलको मैदानमा आफ्नो ठाउँ बनाउन खोज्दै छन्। यदि पहिलेदेखि नै खेलमा समेत समताको अभ्यास हुन्थ्यो भने त फुटबलका राष्ट्रिय टिमहरूमा पनि महिलाहरू हुन्थे। भन्नुको अर्थ, अन्यत्र देखिएको विषमता र विभेदकै अर्को मञ्च हो फिफाको यो पुरुष विश्वकप। 

समाजले र संसारका प्राय: सबै देशले लामो समयदेखि पुरुष फुटबलमा अत्यन्त ठुलो रकम लगानी गरेको छ। त्यही लगानीमा हुर्केको फल हो यो पुरुष फुटबल। त्यति मात्रै होइन, सिंगो खेल क्षेत्रमै पुरुषको वर्चस्व छ। राज्य र समाजको लगानी पनि उत्तिकै छ पुरुष खेलाडी हुर्काउन। अरू देशलाई छाडौँ न, हाम्रै देशमा सरकारले महिला खेलाडीमा कति लगानी गरेको छ र पुरुष खेलाडीमा कति लगानी गरेको छ? 

किन महिलालाई खेल क्षेत्रमा प्रवर्द्धन गरिन्न? फुटबल र अन्य खेलमा कति जना महिला प्रशिक्षक छन्? शायद हाम्रा समाजका तथा राष्ट्रिय राजनीतिकै नेताले समेत राष्ट्रिय फुटबल टिममा महिला पनि रहन सक्छन् भनेर त सोचेका पनि छैनन् होला। यही मनोविज्ञान अन्य क्षेत्रमा छ। महिला र महिलाको समग्र विकासमा हाम्रा घर समाज र राज्य कति लागेको छ? त्यसो हुँदा घर र समाजबाटै भएको विभेदको एउटा सानो उदाहरण हो हाम्रो देशको खेल जगत् र कतारमा चल्दै गरेको विश्व कप फुटबल।

केटीको हकमा त खेलमा होस् या अन्य करियर बनाउने हकमा, समय नै छैन। बिहे गर्‍यो, बच्चा पैदा गर्‍यो र  गृहिणीका रूपमा जीवन गुजार्‍यो। जबसम्म महिला र पुरुषको सम्बन्ध 'पार्टनरसिप मोडल'मा स्थापित हुँदैन, तबसम्म हरेक क्षेत्रमा महिला केबल सेविकाका रूपमा रहन्छन्। गौरिका सिंह र संगिना वैद्यका परिवारले उनीहरूलाई केही हदसम्म सपोर्ट नगरेको भए उनीहरू यो स्तरमा खेलाडी हुन्थे होला त? पक्कै हुन्थेनन्।

'पति परमेश्वर' र 'सेविका'को मोडलमा चलेको समाजले महिलालाई मनोरञ्जन र उत्सवमा भाग लिने मौका बिरलै दिन्छ। रेस्टुरेन्टमा हो भने कमसेकम बियर 'सर्भ' गर्ने महिलाले तलब त पाउँछिन् तर निरन्तर घरेलु श्रममा बाँधिएका महिलाले 'धन्यवाद'को औपचारिकता सम्म पनि पाउँदैनन्। यी सारा जिम्मेवारी र परिबन्दमा फसेकी महिलाका लागि स्वतन्त्र रूपमा खेल क्षेत्रमा छिरेर करियर बनाउने विकल्प हाम्रो समाजमा सहज उपलब्ध छैन। लैङ्गिक विभेदरहित समाजको निर्माण नहुँदासम्म खेल जगत्बाट मात्रै होइन, सबै क्षेत्रमा यसै गरी महिला पछाडि पर्नेछन्।