पुनर्वासको व्यवस्था नहुँदा ललितपुरका पीडितले आफन्तको घर, टहरा र डेरामा यसपटकको दशैँतिहार मनाएका छन्।
पाटन– असोज ११ र १२ गतेको बाढी पहिरोबाट प्रभावित भएकाहरूका लागि हालसम्म पुनर्वासको व्यवस्था हुन सकेको छैन। पुनर्वासको व्यवस्था नहुँदा पीडितले आफन्तको घर, टहरा र छोराछोरीको डेरामा यसपटकको दशैँतिहार मनाएका छन्।
छिमेकी बचाउन जाँदा आफ्नो परिवारका सबै सदस्य गुमाएका डुकुमान स्याङ्तान अहिले ठूलो बुवाको छोरा जिरामान स्याङ्तानको घरमा आश्रय लिएर बसेका छन्। परिवारका सबै सदस्य गुमाएर एक्लै बाँचेका डुकुमानलाई दशैँतिहारको उमंगभन्दा पनि परिवारका सदस्य गुमाउँदाको पीडाले विछिप्त बनाएको छ। कसैसँग राम्रोसँग कुरा गर्नसमेत नसक्ने अवस्थामा डुकुमान पुगेको उनका दाजु जिरामानले बताए। “खानपिन पनि त्यति ध्यान दिएर खाँदैन। आफ्नै सुरको कुरा गरिरहन्छ। हिँडिरहन मात्रै खोज्छ,” उनले भने।
डुकुमानको श्रीमती राममाया स्याङ्तान, जेठा छोरा १४ वर्षीय अजय, ११ वर्षीय सुवास र नौ वर्षकी छोरी सलिनालाई पहिरोले पुर्यो। खोलाका किनारैकिनार तलैसम्म पुगेर छिमेकीले बेपत्ता चारैजनाको खोजी गरे पनि फेला पार्न सकेनन्। चारैजना कहीँकतै जिउँदै भेटिने आश उनलाई थियो। असोज १२ गते दिउँसो करिब ३ बजेतिर श्रीमतीसहित दुई छोरा र एक छोरी एकैठाउँमा पुरिएको अवस्थामा फेला परे। परिवारका पाँचमध्ये डुकुमान एक्लै जीवित छन्। बुबा, आमा र दाइको पहिल्यै मृत्यु भइसकेको थियो। डुकुमान तीन वर्ष वैदेशिक रोजगारमा बसेर ६ महिनाअघि मात्र स्वदेश फर्किएका थिए।
डुकुमानलाई आश्रय दिएर राखिरहेका जिरामानको सात रोपनीभन्दा बढी खेत बढीले बगाएर नष्ट गरेको छ। “आफ्नो भएको त्यही खेत हो, सबै बगाएर सखाप पार्यो। अन्न उब्जाउ हुने ठाउँ छैन,” उनले भने।
बाढी पहिरोबाट विस्थापित बुद्धिमान स्याङ्तानको परिवार उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ रहेका छोराछोरीको डेरामा बसिरहेका छन्। मानिखेलमा ६ जनाको मृत्यु, दुई बेपत्तागरी आठ जनाको परिवारलाई जिल्ला प्रशासन कार्यालयबाट दुई लाखका दरले उपलब्ध गराएको महाँकाल गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ मानिखेलका अध्यक्ष जोनीकुमार न्यासुरले बताए।
“पुनर्वासका लागि वडा नं २ मानिखेलको टुटुवा डाँडामा व्यवस्था मिलाउने गरी पालिकाबाट निर्णय भएको छ। उक्त निर्णय विभिन्न निकाय हुँदै मन्त्रिपरिषद्बाट पारित भएपछि स्थायी संरचना निर्माण गरेर त्यहाँ सार्ने व्यवस्थाका लागि लागेका छौँ,” उनले भने।
वडाध्यक्ष न्यासुरका अनुसार ठोट्ने खोलाका २९, लक्ष्यबासका तीन र मानिखेलबेंसीका छ परिवार गरी ३८ परिवार विस्थापित भएका छन्। “त्रिपालमुनि बस्नुपरेको अवस्था चाहिँ छैन। कोही आफन्तकामा, कोही गोठमा र कोही अध्ययनका लागि उपत्यकामा रहेका आफ्ना छोराछोरीको डेरामा बसिरहेका छन्,” उनले भने। वडा नं ३ गोटीखेलका अध्यक्ष मनोजकुमार पराजुलीका अनुसार वटा नं ३ मा चार जनाको मृत्यु र १९ परिवारको घरबार पूरै नष्ट गरेको छ। अरु ५२ घर अतिप्रभावित भई बासिन्दालाई विस्थापित बनाएको छ। “खाद्यान्न भाँडाकुँडा र कपडा प्रत्येकले पाएका छन्, पुनर्वासका लागि व्यवस्था गर्ने काम हुँदै छ। विस्तृत विवरण पूरा नभएका कारण स्थानीय तहले दिने राहत दिन बाँकी छ। एक/दुई दिनमा वितरण गर्नेछौँ,” पराजुलीले भने।
विस्थापितको पुनर्वासका लागि स्थानीय तहले गरेको निर्णयअनुसार जिल्लाका सरोकार भएका सम्बन्धित सबै कार्यालयसँग समन्वयमा काम अगाडि बढिरहेको जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलले बताए।
महाँकाल गाउँपालिकामा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १३ छ। यस पालिकालाई ललितपुर महानगरले ५० लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने निर्णय गरिसकेको छ। बागमती प्रदेश सरकारले अतिप्रभावित स्थानीय तह घोषित गरी ७५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
