नेपालका पुराना वामपन्थी नेता केशरमणि पोखरेलको शहीद गंगालाल हृदयरोग केन्द्रमा उपाचारका क्रममा शनिबार निधन भएको छ।
काठमाडौँ– नेपालका पुराना वामपन्थी नेता केशरमणि पोखरेलको निधन भएको छ। पोखरेलको काठमाडौँमा उपचारका क्रममा ८६ वर्षको उमेरमा शनिबार निधन भएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले बताए।
शुक्रबार बिहान पश्चिम नवलपरासीको परासीस्थित आफ्नै घरको करेसाबारीमा काम गर्दागर्दै पोखरेल बेहोस भएर लडेका थिए। होसमा आएपछि उनलाई विमानमार्फत काठमाडौँ ल्याएर शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो। शनिबार बिहान ४ बजे डाक्टरले मृत घोषित गरेको पौडेलले बताए। पोखरेल पछिल्लो समयमा रामग्राम नगरपालिका-१४ स्थित घरमा बसोबास गर्दै आएका थिए।
२०४७ सालमा नेकपा मार्क्सवादी र तत्कालीन नेकपा माले एकीकरणमा पोखरेलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनी नेकपा मार्क्सवादीमा मनमोहन अधिकारी र सहाना प्रधानपछि तेस्रो वरीयताका नेता थिए। दुई पार्टी २२ पुस २०४७ मा एकीकरण हुनुअघि मार्क्सवादीले गठन गरेको वार्ता टोली सदस्य थिए।
उक्त टोलीमा पोखरेलसहित सहाना प्रधान र भरतमोहन अधिकारी थिए। मालेको समितिमा माधव नेपाल, जीवराज आश्रित र राधाकृष्ण मैनाली थिए। एकीकरणपछि उनी एमालेको २७ सदस्यीय केन्द्रीय समिति सदस्य भए। उक्त समितिमा अशोक राई, राधाकृष्ण मैनाली, केपी शर्मा ओली, मोदनाथ प्रश्रित, विष्णु पौडेल, वामदेव गौतम, सुरेन्द्र पाण्डेलगायत नेता थिए।
उनी २०२५ सालमा भारतको गोरखपुरमा भएको नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनमा केन्द्रीय सदस्य मात्र नभई ‘हाइकमान्ड’मा नै थिए। उक्त चार सदस्यीय हाइकमान्डमा उनीसँगै पुष्पलाल, हिक्मत सिंह र नारायणमान बिजुक्छे ‘रोहित’ थिए। तर, माले र मार्क्सवादी एकीकरण हुँदा आफूभन्दा कनिष्टलाई पोलिटब्युरोमा लगेर आफ्नो अपमान गरिएको गुनासो पोखरेलले दुई वर्षअघिको कुराकानीमा गरेका थिए।
“मैले नचाहेको भए पार्टी एकीकरण नै सम्भव थिएन, मदन भण्डारीले व्यक्तिगत रूपमा भेटेर एकीकरणलाई छिटो टुंग्याउने गरी काम गर्नुस्, तपाईं मार्क्सवादीबाट पोलिटब्युरोमा आइहाल्नुहुन्छ भनेका थिए,” उनले भनेका थिए, “मेरो अपमान गरियो।”
पोलिटब्युरोमा नपरेपछि उनी एमाले छोडेर फेरि नेकपा मार्क्सवादीमा लागेका थिए भने त्यसको केही समयपछि नै नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। कांग्रेस प्रवेश गर्दा गिरिजाप्रसाद कोइरालासँग भएका सहमति कार्यान्वयन नभएपछि २०५७ सालमा कांग्रेस त्यागेर उनी निष्क्रिय बसेका थिए। र, २०७० सालमा पुनः उनी एमालेमा फर्केका थिए। पछिल्लो समय उनी एमालेबाट टुक्रिएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय सल्लाहकार सदस्य थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
