त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो सुनसहित ३ जना पक्राउ

एयर अरेबियाको विमान चढेर काठमाडौँ आएका एक जना चिनियाँ र दुई जना म्यानमारका नागरिक मंगलबार साँझ पक्राउ परेका हुन्।

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन्। 

एयर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौँ आएका एक जना चिनियाँ र दुई जना म्यानमारका नागरिकलाई मंगलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल विमानस्थल कार्यालयले जनाएको छ।

उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच गर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पिकरमा सुन लुकाएको भेटिएपछि विमानस्थल भन्सार कार्यालय र सशस्त्र प्रहरी बल विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका तीनै जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनुसन्धान थालिएको छ।