ट्रम्पको जितमा विश्वभरबाट नेताहरूले दिए बधाई, कसले के भने?

नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले ट्रम्पलाई बधाई दिँदै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रूपमा उनको दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गरेका छन्।

काठमाडौँ– डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा दोस्रो पटक विजयी भएका छन्। मंगलबार भएको मतदानमा डेमोक्रेटिक दलकी कमला ह्यारिसलाई पछि पार्दै रिपब्लिकनतर्फबाट उम्मेदवार ट्रम्प अमेरिकाको ४७औँ राष्ट्रपति बन्ने पक्का भएको हो।

उनी राष्ट्रपति निर्वाचित भएको औपचारिक घोषणा नभए पनि राष्ट्रपति बन्नका लागि आवश्यक २७० इलेक्टोरल मत प्राप्त गरिसकेका छन्। बीबीसीका अनुसार कूल इलेक्टोरल मतमध्ये ह्यारिसले २२३ प्राप्त गर्दा ट्रम्पले २७९ इलेक्टोरल मत पाएका छन्। यसैबीच रिपब्लिकन पार्टीले अमेरिकी माथिल्लो सदन सिनेटमा पनि ५२ अर्थात बहुमत सिट ल्याएको छ। १०० सिटको सिनेटमा डेमोक्रेटिकले ४२ सिट जितेको छ। ४३५ सदस्य रहने तल्लो सदन अर्थात् प्रतिनिधिसभा (हाउस)मा पनि रिपब्लिकन पार्टी अगाडि नै छ। रिपब्लिकनले १९८ सिट प्राप्त गर्दा डेमोक्रेटिकले १८० सिटमा जित निकालेको छ।

वर्तमान सरकारमा उपराष्ट्रपति रहेकी ह्यारिससँगको प्रतिस्पर्धा निकै प्रतिस्पर्धात्मक रहने आकलन गरिएको भए पनि ट्रम्प ठूलो मतान्तरले विजयी भएका छन्। यसअघि २०१७ मा अमेरिकाको राष्ट्रपति निर्वाचित भएका उनी अघिल्लो निर्वाचन (२०२१)मा भने वर्तमान राष्ट्रपति जो बाइडेनसँग पराजित भएका थिए। अमेरिकामा राष्ट्रपतिको अवधि ४ वर्षको हुन्छ।

ट्रम्पको जितमा बधाईको ओइरो
नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले ट्रम्पलाई बधाई दिएका छन्। राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्समार्फत ऐतिहासिक जित हासिल गरेकामा ट्रम्पलाई बधाई दिँदै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रूपमा उनको दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गरेका छन्। उनले राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पको ‘चुनावी विजय’को प्रशंसा गरेका छन्। “मेरो मित्र डोनाल्ड ट्रम्प तपाईंको ऐतिहासिक चुनावी विजयका लागि हार्दिक बधाई छ,” उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “म भारत–अमेरिका सम्बन्ध र रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउन सहयोगको अपेक्षा गर्दछु। हाम्रा नागरिकको भलाइका लागि हामी सबै मिलेर काम गरौँ र विश्व शान्ति, स्थिरता र समृद्धिको प्रवर्द्धन गरौँ।”

परिणाम ट्रम्पको पक्षमा देखिएसँगै चीनले अमेरिकासँग ‘शान्तिपूर्ण सहअस्तित्व’को आशा गरेको बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित ब्रिफिङमा भने, “हामी पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवै पक्षको हितका लागि सहकार्यको सिद्धान्तमा आधारित चीन–अमेरिका सम्बन्धलाई निरन्तरता दिनेछौँ।”

त्यसैगरी, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘प्रभावशाली विजय’का लागि बधाई दिँदै आफ्नो कार्यकालले युक्रेनमा न्यायोचित शान्ति ल्याउने विश्वास व्यक्त गरेका छन्।

“म राष्ट्रपति ट्रम्पको विश्वव्यापी मामिलामा ‘शक्तिको माध्यमबाट शान्ति’ दृष्टिकोणको प्रतिबद्धताको सराहना गर्दछु। यही सिद्धान्तले युक्रेनमा न्यायोचित शान्ति ल्याउन सक्छ,” जेलेन्स्कीले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसलाई ट्रम्पका लागि ऐतिहासिक पुनरागमन र अमेरिका–इजरायल गठबन्धनको नयाँ शुरूआत भएको बताएका छन्। उनले आफ्नो कार्यालयद्वारा जारी एक विज्ञप्तिमा भनेका छन्, “इतिहासको सबैभन्दा ठूलो पुनरागमनको लागि बधाई। ह्वाइट हाउसमा तपाईंको ऐतिहासिक पुनरागमनले अमेरिकाका लागि नयाँ शुरुआत प्रदान गर्दछ र इजरायल र अमेरिकाबीचको महान् गठबन्धनप्रति एक शक्तिशाली पुनः प्रतिबद्धता प्रदान गर्दछ। यो ठूलो विजय हो।” नाटोमार्फत शक्तिको माध्यमबाट शान्तिलाई अगाडि बढाउन आफू ट्रम्पसँग फेरि काम गर्न उत्सुक रहेको पनि जनाएका छन्।

अमेरिकी राष्ट्रपति चुनावको नतिजालाई लिएर रुसले भने बेग्लै प्रतिक्रिया दिएको छ। राष्ट्रपति चुनावमा ट्रम्पको जितका सम्बन्धमा क्रेमलिनले अन्तिम नतिजाको घोषणासम्म पर्खने बताएको छ। क्रेमलिनबाट जारी विज्ञप्ति अनुसार ३० महिनाभन्दा बढी समयदेखि चलिरहेको युक्रेनसँगको युद्ध अमेरिकामा ट्रम्पको विजयपछि अन्त्य हुन्छ कि हुँदैन भन्ने हेर्न निकै रोचक हुनेछ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने कि ट्रम्पले आफ्नो चुनावी अभियानमा युक्रेन युद्ध समाप्त गर्ने बारे केही महत्त्वपूर्ण बयान गरेका थिए। तर यी भनाइअनुसार काम हुन्छ कि हुँदैन समयले नै बताउला। युक्रेनविरुद्धको रुसको लडाइमा अमेरिका प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न छ। राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पलाई उनको विजयको लागि बधाई दिनेछन्, अहिले त्यस्तो कुनै योजना छैन। वासिंगटनसँग रसियाको सम्बन्ध ऐतिहासिक रूपमा तल्लो तहमा छ।

जापानका प्रधानमन्त्री सिगेरु इसिबाले ट्रम्पलाई बधाई दिँदै ‘जापान–अमेरिका गठबन्धन र जापान–अमेरिका सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन ट्रम्पसँग नजिकबाट काम गर्ने’ आशा व्यक्त गरेका छन्। यसका साथै दक्षिण अफ्रिका, कतार, साउदी अरेयिबा, इजिप्ट, टर्कीलगायत देशका प्रमुखले ट्रम्पको जितमा बधाई दिँएका छन्।