कोदोखेती गर्ने किसानलाई सरकारले आर्थिक अनुदान र प्रोत्साहन गरिदिए सहज हुने किसानको भनाइ छ। बीउ मात्रै उपलब्ध गराए पनि धेरै सहयोग पुग्ने उनीहरू बताउँछन्।
धरान– बराहक्षेत्र नगरपालिका–६ का किसान कोदोखेतीप्रति आकर्षित भएका छन्। यहाँका किसानले धान र मकै लगाउने खेतबारीमा कोदो लगाएका छन्।
स्थानीय अम्मरबहादुर विश्वकर्माले सात कठ्ठा जग्गामा कोदो रोप्ने गरेको बताए।अरू कृषिबालीको तुलनामा कोदोखेती लगाउन सहज र उत्पादन पनि राम्रो हुने उनको भनाइ छ। “१७ वर्षदेखि कोदोखेती गर्दै आएको थिएँ। दुई वर्षदेखि भने खेती बढाएको छु। अहिले यसकै आम्दानीबाट घरखर्च चलाउन पुगिरहेको छ,” उनले भने।
कोदोको बहुउपयोगिताका कारण पनि किसान यसतर्फ आकर्षित भइरहेको उनले सुनाए। विश्वकर्माका अनुसार कोदोबाट कतिपय किसानले घरेलु मदिरा, तोङ्बा बनाएर बिक्री गरेर आम्दानी गरिरहेका छन्।
अर्का किसान शान्ता घिमिरेले पनि मकै र धान खेतीमा जोड दिन छोडेर कोदो खेतीमा लागेको सुनाइन्। “धान र मकैमा जत्ति दुःख गरिन्छ। त्यसअनुसार उत्पादन हुँदैन। रोग, किरा लागेर कहिलेकाहीँ मिहिनेत त्यसै खेर जान्छ,” उनले भनिन्, “कोदोमा त्यस्तो हुँदैन।”
एक कठ्ठा जग्गामा १२० किलोग्रामभन्दा बढी कोदो उत्पादन हुने गरेको छ। बिक्रीका लागि बजारको समस्या छैन। स्थानीय बजारलगायत इनरुवा, इटहरी, धरानमा बिक्रीका लागि पठाउने गरेको उनले बताइन्।
किसान नारायण विक पनि १६ कठ्ठा जग्गामा कोदोखेती गर्दै आएका छन्। मकै, धानलगायत खेती लगाउन छोडेर यस खेतीतर्फ लागेको पाँच वर्षभन्दा बढी भएको उनले बताए। “कोदोखेती गरेर पछुताउनुपरेको छैन। राम्रो आम्दानी भइरहेको छ। कोदो बिक्री गर्नाका साथै घरेलु मदिरा, तोङ्बा बनाएर बिक्री गर्दै आएको छु”, विकले भने,“कोदो बिक्रीका लागि इनरुवा, इटहरी, धरान जाने गरेको छु।”
कोदो प्रतिकिलो ७० देखि १०० रुपैयाँमा बिक्री हुन्छ। तोङ्बा बनाएर १५० रुपैयाँमा एक तोङ्बा बिक्री हुन्छ भने कोदोको रक्सी एक बोतलको २०० रुपैयाँमा घरैबाट बिक्री हुने उनी बताउँछन्।
कोदोखेती गर्ने किसानलाई सरकारले आर्थिक अनुदान र प्रोत्साहन गर्नसके थप सहज हुने उनले बताए। बीउ मात्रै उपलब्ध गराए पनि किसानलाई सहयोग पुग्ने विश्वकर्माको भनाइ छ।
बराहक्षेत्र-६ मा मात्र १५ परिवारभन्दा बढी कोदोखेती गर्ने किसान रहेका छन्। सुनसरीमा हाल ४५८ हेक्टर क्षेत्रफलमा कोदोखेती हुँदै आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए। “कोदोमा धुसिजन्य रोग लागेन भने सुनसरीमा कोदोको उत्पादन राम्रो हुने गरेको छ। पछिल्लो समय कोदोबाट विशेष गरी घरेलु मदिरा, तोङ्बा र पिठो बनाएर प्याकेजिङ गरेर बिक्री गर्ने गरेकाले राम्रो आम्दानी भइरहेको हो,” सूचना अधिकारी श्रेष्ठले भने।
धरान उपमहानगरपालिका– ४, ५, ६ र २० र बराहक्षेत्र नगरपालिका– १, ६ र ५ मा बढी कोदोखेती हुने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
