क्षतिको विवरण तयार नहुँदा काभ्रेमा पुनर्वास कार्यक्रम प्रभावित

स्थानीय तहले क्षतिको पूर्ण विवरण तयार गर्न नसक्दा केन्द्र सरकारबाट प्राप्त हुने सहयोग उपलब्ध गराउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

काभ्रेपलान्चोक– असोज दोस्रो हप्ताको बाढीपहिरोमा परी काभ्रेमा ७९ जनाले ज्यान गुमाए। भौतिक सम्पत्तिमा पनि व्यापक क्षति भयो। खोज, उद्धार तथा राहत सामग्री वितरणमा स्थानीय तह लागेको महिना नाघिसकेको छ। क्षतिको वास्तविक विवरण तयार नहुँदा पुनर्वास कार्यक्रम प्रभावित भएको छ।  

४० दिन बितिसक्दा पनि स्थानीय तहले क्षतिको पूर्ण विवरण तयार गर्न नसक्दा केन्द्र सरकारबाट प्राप्त हुने सहयोग उपलब्ध गराउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पीडित परिवारलाई यथाशीघ्र प्रतिपरिवार पाँच जनासम्मको हकमा १५ हजार र सोभन्दा बढी सदस्य भएमा २० हजार रुपैयाँका दरले जिल्ला विपद् व्यवस्थापन कोषबाट नगद उपलब्ध गराउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए। 

अस्थायी आवास निर्माणका लागि ५० हजार उपलब्ध गराउने मापदण्डअनुसारको विवरण स्थानीय तहसँग माग गरिएको उनको भनाइ छ।  

विशेष गरी अधिक क्षति भएको जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित पनौती नगरपालिका, बेथानचोक र रोशी गाउँपालिकामा पुनर्वास एवं आवास निर्माणका लागि तथ्यांक संकलन जारी छ। यी स्थानीय तह जिल्लाका १३ स्थानीय तहमध्ये अति प्रभावित क्षेत्र हुन्। यी क्षेत्रका स्थानीय आधारभूत भौतिक पूर्वाधारको अभावमा कष्टकर जीवन बिताउन बाध्य छन्। 

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले क्षतिको विवरण संकलन अन्तिम चरणमा पुगेको बताए। उनका अनुसार प्रारम्भिक तथ्यांकअनुसार बाढीपहिरोबाट गाउँपालिकाका ३५० घर पूर्ण रूपमा क्षति भएका छन्। 

पनौतीमा ७०० घर पूर्ण रूपमा क्षति भएको छ। बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बाढीपहिरोबाट घर–जमिनसमेत बगेका परिवारको तथ्यांक संकलन भइरहेको बताए। बेथानचोकमा चार हजार ४०० प्रभावित घरपरिवारमध्ये ५५० घरमा बस्नै नहुने गरी क्षति भएको छ। 

प्रारम्भिक विवरणअनुसार जिल्लामा निजी आवासतर्फ करिब चार हजार पूर्ण क्षति भएको छ। सात हजार घरमा आंशिक क्षति पुगेको अनुमान गरिएको छ। तीन दर्जन सरकारी भवन, तथा सोही संख्यामा सार्वजनिक भवन पूर्ण रूपमा क्षति भएका छन्।