सञ्चालनमा आयो चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन

चिलिमे–मैलुङखण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर मल्टी सर्किट लाइन निर्माण गरिएको छ। 

काठमाडौँ– चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ। रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेँसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्म २८ किलोमिटर प्रसारण लाइन बुधबार साँझ चार्ज गरेर सञ्चालनमा ल्याइएको हो।

यसैगरी, चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नै निर्माण गरिएको चिलिमे हब सबस्टेसन पनि बुधबार नै चार्ज गरिएको छ। उक्त सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीएका दुईवटा गरी ३२० एमभीए र १३२/३३ केभीतर्फ, ५० एमभीए क्षमताका पावर ट्रान्सफर्मर रहेका छन्। आयोजनाअन्तर्गत त्रिशूली थ्री बी हब २२० केभी क्षमताको सबस्टेसन यसअघि नै सञ्चालनमा थियो।

त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो। यसले करिब १२०० मेगावाट विद्युत् प्रवाह गर्न सक्छ।

अनुमानित लागत ३ अर्ब  ६२ करोड ८९ लाख रुपैयाँ छ। आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र जर्मन विकास बैंक (केएफडब्लू)को अनुदान छ। युरोपेली लगानी बैँक (इआइबी)को सहुलियतपूर्ण ऋण रहेको छ।

नेपाल विद्युत् प्राधिकरण उच्च भोल्टेज ग्रिड विभागका निर्देशक थर्कबहादुर थापाले प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आइसकेकाले त्यस क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् जुनसुकै बेला जोड्न सकिने बताए। 

प्रसारण लाइनका लागि ७६ वटा टावर निर्माण गरिएका छन्। ३३ वटा टावर पहुँच सडक नभएका ठाउँमा निर्माण गर्नु पर्ने अवस्था थियो। आयोजनाले लाइन निर्माणका लागि २० किलोमिटरभन्दा बढी पहुँच सडक निर्माण गरेको छ। हेलिकप्टरबाटसमेत निर्माण सामाग्री ढुवानी गरी टावर निर्माण गरिएको थियो ।

चिलिमे–मैलुङखण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ। 

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीसँग २०७४ कात्तिकमा ठेक्का सम्झौता भएको थियो।