१६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउँदै अस्ट्रेलिया

फेसबुक र इन्स्टाग्राम सञ्चालन गरेको मेटा कम्पनीले सरकारले पेस गर्न चाहेको जुनसुकै पनि उमेर सीमालाई सम्मान गर्ने जनाएको छ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले १६ वर्ष मुनिका बालबालिकामा फेसबुक टिकटकजस्ता सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन्। 

प्राविधिक विज्ञलाई उमेरको सीमा लागू गर्ने जिम्मेवारी दिएको बताउँदै प्रधानमन्त्री अल्बानिजले नियमको उलंघन गरे जरिबानाको सामना गर्नुपर्ने उल्लेख गरेका छन्। 

अस्ट्रेलिया सामाजिक सञ्जालको नकारात्मक प्रभाव नियन्त्रणको प्रयास गर्ने अग्रणी राष्ट्र हो। प्रधानमन्त्री अल्बानिजले प्रस्तावित उमेर बालबालिकाका लागि सबैभन्दा महत्त्वपूर्ण र आमाबुवासँग बिताउनुपर्ने उमेर भएकोसमेत जनाएका छन्।  

नोभेम्बरको अन्त्यमा संसद्‌मा पेस हुनुअघि यी कानून राज्य र क्षेत्रका नेतासमक्ष प्रस्तुत गरिनेछ। कानून पारित भएपछि कार्यान्वयनका लागि एक वर्षको अवधि दिइनेछ। यसको प्रभावकारी कार्यान्वयनका लागि आमाबुवा तथा युवा जिम्मेवार हुनेछन्।  

फेसबुक र इन्स्टाग्राम सञ्चालन गरेको मेटा कम्पनीले सरकारले पेस गर्न चाहेको जुनसुकै पनि उमेर सीमालाई सम्मान गर्ने जनाएको छ। अस्ट्रेलियाले प्रतिबन्ध लागू गर्दा सावधानीपूर्वक सोच्नुपर्ने मेटाका सुरक्षा प्रमुख एन्टिगोन डेभिसले बताए।  

सञ्चारमन्त्री मिसेल रोल्यान्डले इन्स्टाग्राम, फेसबुक, टिकटक र एक्सजस्ता नेटवर्क तथा कम्पनीले निर्धारित कानूनको उल्लंघ गरे आर्थिक दण्डको सामना गर्नुपर्ने बताए। 

फ्रान्सले सन् २०२३ मा कानून पारित गरी  सामाजिक सञ्जाल प्रयोगकर्ताको उमेर  कम्तीमा १५ वर्ष हुनुपर्ने व्यवस्था गरेको थियो।