लुक्लामा एकैदिन १८४ उडान, भित्रिए ४०० विदेशी पर्यटक

तेन्जिङ हिल्लारी विमानस्थल, लुक्लामा बिहीबार हेलिकप्टर र विमानले गरी १८४ पटक उडान गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ।

सोलुखुम्बु– सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा बिहीबार एकैदिन १८४ वटा हवाई उडान भएको छ। उक्त विमानस्थलमा हेलिकप्टर र जहाजले गरी १८४ पटक उडान गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ। 

कार्यालयका प्रमुख उमेश पन्थीका अनुसार मौसम खुलेसँगै बिहीबार हेलिकप्टरले १५२ तथा जहाजले २३ वटा उडान भरेका हुन्। जहाजको उडानमा तारा एयरलाइन्स र समिट एयरलाइन्सले १२/१२ उडान तथा सीता एयरलाइन्सले आठ वटा उडान भरेको प्राधिकरण प्रमुख पन्थीले बताए। 

बिहीबार हवाई सेवाबाट मात्रै ३९६ जना विदेशी र १३६ जना नेपाली गरी कुल ५३२ जना पर्यटक लुक्ला भित्रिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए। 

उनका अनुसार उक्त संख्यामा पर्यटक भित्रिँदा ३३६ जना विदेशी र १२६ जना नेपाली गरी कुल ४६२ जना पर्यटक हवाई सेवामार्फत लुक्लाबाट बाहिरिएका छन्। नाम्चेबाट बिहीबार ४७५ जना विदेशी पर्यटक उकालो लाग्दा तीन सय तीन विदेशी पर्यटक फर्किएको प्रहरीको तथ्यांक छ। 

“सगरमाथा क्षेत्र आउने पर्यटक अहिले पनि उत्साहजनक नै मान्नुपर्छ तर चिसो मौसम शुरू भएकाले फर्किने क्रम पनि त्यतिकै रहेको छ”, सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले भने। 

मंसिर मध्यसम्म मात्रै पर्यटक याम चल्ने भएकाले भित्रिनेसँगै बाहिरिनेको संख्या पनि उत्तिकै रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ।