९ हजार रोजगारी कटौती गर्ने जापानी कार उत्पादक निसानको घोषणा

जापानी कार उत्पादक कम्पनी निसानले नौ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ भने वार्षिक बिक्री पूर्वानुमान पनि घटाएको छ।

तस्वीर : एएफपी

जापानी कार उत्पादक कम्पनी निसानले नौ हजार कर्मचारी कटौती गर्ने बिहीबार घोषणा गरेको छ। कम्पनीले आफ्नो वार्षिक बिक्री पूर्वानुमान पनि घटाएको छ र ‘गम्भीर अवस्था’ सामना गर्न तत्काल उपायहरू अवलम्बन गरिरहेको बताएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिदाले उत्तर अमेरिकी बजारमा न्यून बिक्री प्रमुख कारक भएको पत्रकारहरूलाई बताए। कम्पनीले पहिलो अर्धवार्षिकमा शुद्ध नाफामा ९३ प्रतिशतले गिरावट आएको जनाएको छ।

बेइजिङ समर्थित तीव्र गतिमा बढिरहेका विद्युतीय वाहनका कारण निसान र यसका घरेलु प्रतिद्वन्द्वीले चीनमा आफ्नो आधार खडा गर्न संघर्ष गरिरहेका छन्।

“गम्भीर अवस्थाको सामना गर्दै निसानले आफ्नो प्रदर्शनलाई परिवर्तन गर्न र तीव्र रूपमा परिवर्तित बजारलाई अनुकूलन गर्नका लागि अधिक लचिलो व्यवसाय सिर्जना गर्ने उपाय अपनाइएको छ”, कम्पनीको एक विज्ञप्तिमा भनिएको छ, “निसानले विश्वव्यापी उत्पादन क्षमतामा २० प्रतिशतले कटौती गर्नेछ र विश्वव्यापी कार्यशक्ति नौ हजारले घटाउनेछ।”

उचिदाले ‘नोभेम्बर २०२४ देखि आफ्नो मासिक पारिश्रमिकको ५० प्रतिशत स्वेच्छाले त्याग्ने र अन्य कार्यकारी समितिका सदस्यले पनि त्यसअनुरूप तलब कटौती गर्ने’ बताएका छन्।

कम्पनीले यसअघि १४० खर्ब येन अनुमान गरिएको तुलनामा अब १२७ खर्ब येन (८० अर्ब डलर) को शुद्ध बिक्री अपेक्षा गरेको छ। 

तर निसानले बिहीबार शुद्ध नाफाको पूर्वानुमान जारी गरेन। जुलाईमा १० अर्ब येनसम्म पुर्‍याएको थियो। वर्षको पहिलो ६ महिनामा शुद्ध नाफा १९ अर्ब २० करोड अर्ब येन मात्र थियो।

“नियोजित पुनर्लाभ प्रयासका लागि आवश्यक लागतको निरन्तर मूल्यांकनपछि शुद्ध आय निर्धारण गरिने छ”, उचिदाले भने।

उनले निसानका ‘कोर’ वाहन मोडेलले पश्चिमी अमेरिकामा पहिलेजस्तो राम्रो प्रदर्शन नगरेको बताए। “लागत र ब्रान्डशक्तिको दृष्टिकोणबाट हामी अमेरिकामा हाम्रो ब्रान्डको पुनर्निर्माण गर्नेछौँ,” उनले भने।

अन्य उपायमा कार कम्पनीले मित्सुबिशी मोटर्समा आफ्नो हिस्सा घटाएर कम्पनीलाई बिक्री गर्नेछ। यसले मित्सुबिशीमा यसको हिस्सेदारी हालको ३४ प्रतिशतबाट करिब २४ प्रतिशतमा झर्ने बताएको छ। निसानले कम्पनीसँग घनिष्ठ सम्बन्ध राख्ने उचिदाले बताए।

निसानले २०१८ मा पूर्वप्रमुख कार्यकारी अधिकृत कार्लोस घोसनको गिरफ्तारीसहितको अशान्त दशक देखेको छ। घोसन अहिले लेबनान छन्। आफूमाथिका आरोपको निष्पक्ष परीक्षण नहुने विश्वासमा उनी जापानबाट भागेका थिए। उनले आफूविरुद्धका आरोप अस्वीकार गरेका छन्।