चितवनका भित्री सडकमा सवारी दुर्घटना बढी

दुर्घटनामा संलग्न सवारीसाधनमा सबैभन्दा धेरै मोटरसाइकल रहेका छन्। हालसम्म २८८ सवारीसाधन दुर्घटनामा परेकोमा १६३ मोटरसाइकल रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

चितवन– जिल्लामा भएका दुर्घटनामध्ये भित्री सडकमा दुर्घटना भएको पाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा भित्री सडकमा मात्रै १०७  दुर्घटना भएका छन्।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार गत साउनदेखि भएका १८७ दुर्घटनामध्ये सो संख्यामा भित्री सडकमा दुर्घटना भएका हुन्। 

दुर्घटनामा संलग्न सवारीसाधनमा सबैभन्दा धेरै मोटरसाइकल रहेका छन्। हालसम्म २८८ सवारीसाधन दुर्घटनामा परेकोमा १६३ मोटरसाइकल रहेको शर्माले जानकारी दिए। 

उनका अनुसार जिल्लाका भित्री सडकमा यस वर्ष भएका दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने १७१ घाइते भएका छन्। आर्थिक वर्ष २०७८/८९ देखिको तथ्यांक हेर्दासमेत भित्री सडक निकै जोखिमपूर्ण हुने गरेको छ। सो समयदेखि हालसम्म भएका एक हजार ४६४ दुर्घटना भएका छन्। जसमा भित्री सडकमा ५० प्रतिशत दुर्घटना भएको कार्यालयको तथ्यांकले देखाएको छ। 

भित्री सडकमा ७४० वटा सवारी दुर्घटना भएको र ती दुर्घटनामा परि १६५ जनाको ज्यान गएको छ। यस्तै, एक हजार १२९ जना घाइते भएका छन्। शर्माका अनुसार चालु आर्थिक वर्षमा पूर्व–पश्चिम राजमार्गमा ३५ वटा सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन्।

यस्तै, नारायणगढ–मुग्लिन सडक खण्डमा भएका २७ वटा दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने ११८ जना घाइते भएका छन्। सहरी सडक खण्डमा भएका १३ वटा दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। 

यस्तै, पृथ्वी राजमार्गमा भएका पाँच वटा दुर्घटनामा नौ जना घाइते भएको कार्यालयको तथ्यांकले देखाएको छ। प्रमुख शर्माका अनुसार भित्री सडकमा बिहानी हिँडाइ र रात्रिकालीन हिँडाइका क्रममा र मोटरसाइकल तीव्र गतिमा आउने हुँदा दुर्घटना बढी हुने गरेको हो। 

सडक फराकिलो नहुनु, तीव्र गतिमा सवारी चलाउनु, सवारीको चाप बढ्नु लगायतका कारण दुर्घटना बढी भएको उनले बताए। दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतनाका कार्यक्रम तीव्र पारिएको शर्माले बताए। 

प्रमुख शर्माले भने, “अन्य सडकको तुलनामा भित्री सडकमा दुर्घटना बढी हुने गरेको छ।” सबै क्षेत्रमा ट्राफिक प्रहरी पुगेको भए पनि दुर्घटना हुन नदिनका लागि सवारीचालक र यात्रुहरू सजग रहनुपर्ने उनको भनाइ छ।