विमानस्थल बन्द हुने सूचना बेवास्ता गरेका विमान कम्पनीबाट अन्तिम समयमा धमाधम टिकट रद्द, मर्कामा यात्रु
नागरिक उड्डयन प्राधिकरणले उडान कटौती गरेको बहानामा विमान कम्पनीले अन्तिम समयमा यात्रुलाई टिकट स्थगित भएको सूचना पठाएपछि अग्रिम टिकट लिएर उडान समय कुरेर बसेका सयौँ यात्रु मर्कामा परेका छन्।
काठमाडौँ– कतार एयरवेजमार्फत विभिन्न गन्तव्यमा पुग्न काठमाडौँको ठमेलस्थित प्रभास ट्राभल्सबाट टिकट काटेका यात्रुको टिकट स्थगित भएको सूचना कात्तिक २२ गते प्राप्त भयो। कतार एयरवेजको उडान समय स्थगित भएको सूचना पुगेलगत्तै ठमेलस्थित एजेन्सी कार्यालयमा शुक्रबार यात्रुको भिड थियो।
उक्त ट्राभल एजेन्सीका सञ्चालक प्रकाश लोहनी कतार एयरवेजले अन्तिम समयमा आएर यात्रुहरूको उडान स्थगित भएको सूचना पठाएको गुनासो गरे। “मानिसहरूको महत्त्वपूर्ण काम हुन्छन्। त्यही योजनाअनुरूप टिकट काटेका हुन्छन्,” उनी भन्छन्, “अन्तिम समयमा आएर उडान स्थगित भएको सूचनाले यात्रुहरूको बिजोग भएको छ।”
उनका अनुसार अहिलेसम्म एजेन्सीमार्फत कतार एयरवेजले नोभेम्बरका लागि टिकट काटेका १५० जना यात्रुको निर्धारित उडान हुने मितिको टिकट ‘क्यानसिल’को सूचना पठाएको छ। “कि पछि अरू मितिमा सार्ने विकल्प छ अथवा पैसा फिर्ताको विकल्प दिएको छ,” उनी भन्छन्, “अहिले आएर यो सूचना दिने होइन। अन्तिममा आएर दिएको यस्तो सूचनाले यात्रुलाई समस्या भयो। धेरै यात्रुलाई यसबारे जानकारी नै छैन। जब यात्रुहरू एयरपोर्टमा पुग्छन् अनि थाहा पाउँछन्। कतिपयले अनलाइन टिकट काटेका छन्। यसले ठूलो समस्या ल्याउनेवाला छ।”
कतार एयरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा–काठमाडौँ, काठमाडौँ–दोहा गरी दैनिक चार उडान गर्दथ्यो। अहिले त्यसलाई दुईमा सीमित गरेको छ। त्यस्तै, दिल्ली–काठमाडौँ तीन उडान गर्ने एयर इन्डियाले पनि दुई वटा उडानमा मात्र सीमित गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिक २३ गतेदेखि चैत १८ सम्म पाँच महिनाका लागि विमानस्थलमा समानान्तर ’ट्याक्सी वे’ निर्माण गर्ने भन्दै उडान संख्या घटाएपछि विमान कम्पनीहरूले टिकट काटिसकेका यात्रुहरूको टिकट क्यानसिल गराएका हुन्। ट्राभल एजेन्सी सञ्चालकहरूका अनुसार कतार एयरवेज र एयर इन्डियामा टिकट लिएका यात्रुका लागि बढी समस्या भएको छ। कतार एयरवेजले एक डेढ महिनापछि मात्र उडान गर्न सक्ने समय दिएको छ।
नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा ३० र आन्तरिक उडानमा ३५ प्रतिशत कटौती गरेको छ। राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरेर विमानस्थल विस्तार गरिँदै छ। जसअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सातामा ४१० अन्तर्राष्ट्रिय उडान हुने गरेकोमा त्यसलाई घटाएर २८७ मा झारिएको हो। २१ घण्टा सञ्चालन हुने विमानस्थल पाँच महिनासम्म १४ घण्टा मात्र सञ्चालन हुने छ।
विमानस्थल १० घण्टा बन्द गरिँदा यहाँबाट हुने एक तिहाइ उडान कटौती हुने भएका छन्। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने सूचना ६ महिनाअघि नै सबै विमान कम्पनीलाई दिइएको बताउँछन्। “हामीले विकल्प दिएर ६ महिनाअघि नै सूचना जारी गरेका थियौँ। एयरलायन्स कम्पनीले विकल्प प्रयोग नगरेर राजनीति गरे। राज्यको आवश्यकताअनुसार विमानस्थल बन्द वा खुला हुन सक्छ,” उनी भन्छन्।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टका कार्यसमिति सदस्य कृष्ण ढकालले विमान कम्पनीले नागरिक उड्डयन प्राधिकरणलाई र प्राधिकरणले विमान कम्पनीहरूलाई दोष देखाइरहेको बताए। पहिला सूचना दिएकाले त्यसमा कमजोरी विमान कम्पनीहरूको रहेको प्राधिकरणले बताउने गरेको छ। “समस्या भएपछि हामी प्राधिकरणमा पनि गयौँ। प्राधिकरणले पहिले नै विमान कम्पनीलाई सूचना गरेको भन्छ। यदि सूचना दिएको थियो भने विमान कम्पनीले पूर्वटिकट इस्यु नै गर्न हुँदैनथ्यो,” उनी भन्छन्, “पूर्वनिर्धारित तालिकाअनुसार फ्लाइटको टिकट इस्यु भयो तर अहिले फ्लाइट नहुँदा समस्या आयो।”
क्यानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान कटौती भएका विमानलाई भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानका लागि आग्रह गरेको थियो। तर, एयर एशिया, जजिरा र फलाई दुबईबाहेक अन्य विमान कम्पनीले भैरहवाबाट उडान गर्न तयार देखिएका छैनन्।
यो पनि: विमानस्थल १० घन्टा बन्दको प्रभावः हवाई भाडा १५० प्रतिशतसम्म वृद्धि, भारतबाट टिकट खोज्दै नेपाली
सरकारले ती विमानस्थल भएर उडान गर्ने विमानमा कुनै शुल्क नलिने निर्णय गरेको छ। तर विमान कम्पनीहरूले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न मानेका छैनन्। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता भुल विमान कम्पनीहरूको काठमाडौँ केन्द्रित मानसिकताले काम गरेको बताउँछन्। “हामी जाँदै जाँदैनौँ, हाम्रो काठमाडौँ केन्द्रित मानसिकता छ भनेपछि त्यसको समाधान प्राधिकरणसँग छैन,” उनी भन्छन्।
भैरहवाबाट उडान गर्न तयार भएका विमान कम्पनीहरूको पनि भैरहवाबाट भाडादर महँगो छ। सरकारको आग्रहपछि फ्लाई दुबई, जजिरा र एशिया एयरलायन्स भैरहवाबाट उडानका लागि तयार भएको प्रवक्ता भुलले जानकारी दिए। तर जजिरा र फ्लाई दुबईको भाडादर निर्धारित गन्तव्यमा काठमाडौँभन्दा भैरहवाबाट २५ देखि ३० हजार रुपैयाँ महँगो छ।
भैरहवाका ट्राभल एजेन्ट एवम् पर्यटन व्यवसायी कृष्णप्रसाद अधिकारी एयरलायन्स कम्पनीहरूले भैरहवाबाट भाडादर झन् महँगो बनाएर उडान गर्न अनिच्छा देखाएको बताउँछन्। पहिला ३५ हजारमा भैरहवाबाट ओमान उडाउने जजिरा एयरलायन्सको भाडा अहिले १ लाख १० हजार भएको उनले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
