बागलुङ–पूर्वी रुकुम सडक: ठेक्काको म्याद सकिएको ५ वर्ष भयो, ठेकेदार बेपत्ता

सडक कालोपत्रका लागि २०७३ जेठमा ठेक्का सम्झौता भएको थियो। काम सक्नुपर्ने म्याद २०७५ जेठसम्म थियो। सडक कार्यालयले हालसम्म पाँच पटक म्याद थपेको छ। काम भने भएको छैन।

ढोरपाटन– मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–पूर्वी रुकुम सडक अधुरै रहेको छ। 

निर्माण कम्पनीले लामो समयदेखि काम नगर्दा बागलुङको निसीखोला गाउँपालिका–६ पातीहाल्ने सिमानादेखि पूर्वी रुकुमको भूमे गाउँपालिका–१ रुपगासम्मको १३ किलोमिटर सडक निर्माण सम्पन्न हुन नसकेको हो।

२०७३ जेठमा उक्त सडक कालोपत्र गर्न सम्झौता भएको थियो। अहिलेसम्म ७० प्रतिशत मात्रै काम सकिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय दैलेखका इन्जिनियर नवीन खरालले जानकारी दिए। २०७६ जेठसम्म काम सम्पन्न गर्नुपर्ने थियो।

इन्जिनियर खरालका अनुसार निर्माण कम्पनीको हालसम्म पाँचपटक म्याद थप गरिएको छ। अन्तिम पटक २०७९ भदौमा २०८० असारसम्मका लागि म्याद थप भए पनि निर्माण कम्पनीले काम नगरेको उनको भनाइ छ। म्याद सकिएको १६ महिनासम्म निर्माण कम्पनी काम गर्न नआएको इन्जिनियर खरालले बताए। सडक कालोपत्र गर्न ४२ करोड ९९ लाखमा सम्झौता भएको थियो। 

बागलुङ र लुकुम गाउँबीचको सडक कालोपत्र नहुँदा यात्रा गर्न समस्या हुने गरेको छ। सडक खाल्डाखुल्डी र साँघुरो भएकाले दुर्घटनाको जोखिम छ। हिउँदमा धुलो र बर्खामा हिलोले आजित भएको भूमे गाउँपालिका–१ का पृथमान गुरुङले बताए। 

“यो सडक खुलेको धेरै वर्ष भयो। अहिलेसम्म कालोपत्र गर्न सकिएको छैन। धुलो र हिलोले बस्तुभाउ र मानिस बिरामी पर्ने गरेका छन्,” उनले भने।